काठमाडौँ। पर्यटन विभागले हिमाल आरोहणका लागि ३ सय ३४ जनालाई अनुमति दिएको छ । विभागले जारी गरेको सूचीअनुसार १६ हिमाल आरोहण गर्न ३३४ जनालाई अनुमति दिईएको हो।
यसमा ७४ महिला र २ सय ६० पुरुषसहित ३ सय ३४ जना छन् ।
विभागले यसबाट २३ करोड ७५ लाख सलामी दस्तुर संकलन गरेको छ । विभागले यस यामका लागि फागुन १८ देखि आरोहण अनुमति खुला गरेको थियो । अहिलेसम्म सबैभन्दा धेरै आरोहण अनुमति सगरमाथा हिमालका लागि जारी भएका छन् । यसअनुसार सगरमाथा आरोहणका लागि १ सय ४९ जनाले अनुमति लिएका छन् । सगरमाथापछि ल्होत्सेका लागि ४५, आमादब्बलमका लागि ३८, अन्नपूर्ण प्रथमका लागि २५, धौलागिरिका लागि १५, मकालुका लागि १०, जुगल प्रथम र जुगल दोस्रोका लागि १०र१० जनाले आरोहण अनुमति पाएका छन् ।
नेपालले ४ सय १४ वटा हिमाल आरोहणका लागि खुला गरेको छ । विभागले यी हिमालको आरोहण अनुमति जारी गर्छ । यीबाहेक नेपाल पर्वतारोहण संघले ५८ सयदेखि ६४ सय मिटरसम्मका २७ वटा हिमाल आरोहणको अनुमति जारी गर्छ ।
सगरमाथा आरोहणका लागि विदेशीले वसन्तयाममा ११ हजार डलर र नेपालीले ७५ हजार रुपैयाँ सलामी दस्तुर बुझाउनुपर्छ । सगरमाथाबाहेक अरू ८ हजार मिटर अग्ला हिमाल आरोहण गर्दा विदेशीले १८ सय डलर र ६५ सय मिटर उचाइभन्दा कम उचाइका हिमाल आरोहण गर्दा २ सय ५० डलर सलामी दस्तुर बुझाउनुपर्छ ।
प्रतिक्रिया