काठमाडौँ। निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्ष २०७९/०८० को तेस्रो त्रैमाससम्म आउँदा नाफामा भारी गिरावट आएको छ। कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको चैतमसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९४.५२ प्रतिशत ले घटेको हो।
गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ८० करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको यस लघुवित्तले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४ करोड ४० लाख रुपैयाँ मात्र नाफा कमाएको छ।
खुद ब्याज आम्दानी घटेसँगै निष्क्रिय कर्जा उल्लेख्य बढेका कारण लघुवित्तको नाफा घट्न पुगेको विवरणले देखाउँछ। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १०.१९ प्रतिशत घटेको भने खुद फि तथा कमिशन आम्दानी ३१.४० प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी १४.६४ प्रतिशत र सञ्चालन मुनाफा ९४.३७ प्रतिशत घटेको छ।
लघुवित्तको निष्क्रिय कर्जा ३.३३ प्रतिशतबाट बढेर १२.०९ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज बढेर ८६ करोड १९ लाख रुपैयाँ पुगेको छ। जसका कारण लघुवित्तको सञ्चालन मुनाफा र खुद नाफा दुबै घट्न पुगेको हो।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ४६ रुपैयाँ ५१ पैसा घटेर २ रुपैयाँ २५ पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ७६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २७७.७८ गुणा रहेको छ।
२ अर्ब ६१ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ९२ करोड ६७ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले पछिल्लो ९ महिनामा २४ अर्ब २ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट २५ अर्ब ५७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
प्रतिक्रिया