काठमाडौँ। २०८० अषाढ मसान्तमा रू.१५३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २७.८ प्रतिशतले वृद्धि भई २०८१ जेठ मसान्तमा रू१९६७ अर्ब १९ करोड पुगेको छ।
अमेरिकी डलरमा यो सञ्चिति २०८० अषाढ मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ जेठ मसान्तमा २५.७ प्रतिशतले वृद्धि भई १४ अर्ब ७२ करोड पुगेको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० अषाढ मसान्तमा १३४५ अर्ब ७८ करोड रहेकोमा २०८१ जेठ मसान्तमा ३०.२ प्रतिशतले वृद्धि भई रू.१७५२ अर्ब ७७ करोड पुगेको छ। बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० अषाढ मसान्तमा रू.१९३ अर्ब ५९ करोड रहेकोमा २०८१ जेठ मसान्तमा १०.८ प्रतिशतले वृद्धि भई रू.२१४ अर्ब ४२ करोड कायम भएको छ। २०८१ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको छ।
आर्थिक वर्ष २०८०–८१ को एघार महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको देखिन्छ।
प्रतिक्रिया