काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अपर अरुण जलविद्युत् आयोजनाको काम छिट्टै सुरु हुने बताएका छन्। नेपाल प्रेस युनियन सङ्खुवासभाले खाँदबारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खड्काले आयोजनाका लागि आवश्यक स्रोत सुनिश्चित गरिसकिएको र कार्य सुरुआत गर्न तयारी भइरहेको जानकारी दिए।
मन्त्री खड्काले गरिब र विपन्न परिवारका लागि सस्तो ब्याजमा ऋणको व्यवस्था गरेर आयोजना निर्माणमा स्थानीय सहभागिता गराउन सरकार प्रतिबद्ध रहेको बताए। “सङ्खुवासभाका प्रत्येक घरले पाँच लाख रुपैयाँको शेयर सुनिश्चितता पाउने व्यवस्था गर्न लागिपरेको छु” उनले भने। यसै गरी गरिब तथा विपन्न जनतालाई शेयर दिने ढाँचा देशभर लागू गर्ने योजनामा सरकार रहेको छ।
सङ्खुवासभाको समृद्धिका लागि जिल्लाभित्रका जलस्रोतको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिँदै मन्त्री खड्काले जिल्लाभित्र आयोजनाका क्रममा देखिएका समस्या समाधान गर्न सरकारले ठोस पहल गरिरहेको बताए। कोशी करिडोरमा राष्ट्रिय प्रसारण लाइन निर्माणका क्रममा देखिएको ढिलाइलाई सम्बोधन गर्न सम्बन्धित जिल्ला अधिकारीहरूसँग छलफल भइरहेको उनले जानकारी दिए।
ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता जनाउँदै मन्त्री खड्काले सरकारले १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको र यो लक्ष्य पूरा गर्न सरकार दृढ रहेको उल्लेख गरे। “समृद्ध मुलुक निर्माणका लागि आन्तरिक खपत बढाउँदै अतिरिक्त विद्युत् विदेशमा निर्यात गरिनेछ” उनले भने।
ऊर्जा मन्त्रीले जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बिक्री गर्दा खोलानाला बेचिएको भन्ने गलत धारणा चिर्नुपर्ने आवश्यकता औंल्याए। उनले सरकारी अस्पताल, विद्यालय, खानेपानी, सिँचाइ क्षेत्रहरूमा विद्युत् सहुलियत दिन सके जनतालाई सहयोग पुग्ने धारणा व्यक्त गरे।
छिटो र छरितो कार्यसम्पादनका लागि प्रधानमन्त्रीको निर्देशन अनुरुप मन्त्रालयले काम गरिरहेको जनाउँदै मन्त्री खड्काले ट्रङ्कलाइन र डेडिकेटेड विद्युत् क्षेत्रका समस्या समाधानका लागि लेखा समितिमा छलफल भइरहेको र चाँडै टुंगो लाग्ने विश्वास व्यक्त गरे। “व्यवसायीहरूले प्रयोग गरेको बिजुलीको पैसा तिर्नै पर्छ” उनले थपे।
प्रतिक्रिया