काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको निरन्तर सक्रियता र लगावका कारण देशको अर्थतन्त्रमा सकारात्मक सुधारको आशा पलाएको बताउनुभएको छ। ललितपुर उद्योग वाणिज्य संघको ४५औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले कोभिड महामारी र रुस-युक्रेन युद्धपछिको अस्थिरता तथा श्रीलंकाको आर्थिक संकटको सन्दर्भमा नेपालमा पनि चिन्ता व्याप्त भए पनि महासंघले आफ्नो जिम्मेवारी पूरा गर्दै अर्थतन्त्रमा सुधारका लागि ठोस कदम उठाएको धारणा राखे।
उनले भने, “महासंघले सरकारसँग सहकार्य गर्दै अर्थतन्त्रलाई थप बिग्रन नदिन र कोभिडपछिको अवस्थामा सुधार ल्याउन विभिन्न सुधारका काम सुरु गर्यो। जसको परिणामस्वरूप अहिले आर्थिक क्षेत्रमा सुधारका संकेत देखिएका छन्।”
अध्यक्ष ढकालले हालै सम्पन्न लगानी सम्मेलनलाई सफल बनाउन महासंघले गरेको प्रयास र कानुनी सुधारका लागि लिएको पहललाई पनि महत्वपूर्ण ठहर गर्नुभयो। उहाँले आठ वटा कानुन संशोधन गराई, लगानीकर्तालाई आकर्षित गर्ने वातावरण सिर्जना गरिएको बताय।उनले भने “पहिलाका सम्मेलनमा प्रतिबद्धता गरेअनुसार लगानी नआउने समस्यालाई समाधान गर्न यस पटक कानुनी सुधारमा ध्यान केन्द्रित गर्यौं जसले लगानीकर्तालाई सहजीकरण गर्नेछ।”
अध्यक्ष ढकालले नेपालका राजनीतिक दलहरू बीच आर्थिक मुद्दामा देखिएको सहकार्यलाई सकारात्मक संकेतको रूपमा लिनुभयो। उनले भने “महासंघको सक्रियता र एड्भोकेसीका कारण सबै राजनीतिक शक्ति एकजुट भएर देशको आर्थिक सुधारमा योगदान दिन तयार भएका छन्, जसले गर्दा लगानीको वातावरण विस्तारै सुदृढ हुँदै गएको छ।”
देशभित्र छरिएको पुँजीलाई एकत्रित गरी ठूला परियोजनाहरूमा लगानी गर्न महासंघले प्रयास गरिरहेको उल्लेख गर्दै अध्यक्ष ढकालले निजी क्षेत्रको सहभागितामा १० अर्ब पुँजीको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी’ स्थापना गरिएको जानकारी दिनुभयो। यस कम्पनीमार्फत साना व्यवसायीहरूले इक्वीटीको रूपमा पुँजी जुटाउन सक्ने र देशैभर छरिएका स्रोतसाधनलाई ठूला लगानीमा प्रयोग गर्न सकिने वातावरण निर्माण गरिने बताय।
अन्तमा, अध्यक्ष ढकालले अहिलेको समय लगानीका लागि अनुकूल रहेको र सबैलाई यस अवसरको सदुपयोग गरी अर्थतन्त्रको पुनरुत्थानमा सहभागी हुन आह्वान गरे ।
प्रतिक्रिया