काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको नेतृत्वमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाबाट एक महिनाभित्र विद्युत् उत्पादन गर्ने गरी काम अन्तिम चरणमा पुगेको छ।
बाह्रबिसे नगरपालिकामा रहेको आयोजनाको विद्युतगृहबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब चार किलोमिटर लामो प्रसारण लाइनमध्ये दुई किलोमिटरको निर्माण सम्पन्न भइसकेको छ। दशैं अगाडि नै बाँकी तार तान्ने काम पूरा हुने लक्ष्य राखिएको छ।
ऊर्जा मन्त्री दीपक खड्का र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको उच्चस्तरीय टोलीले आयोजना स्थलको निरीक्षण गर्दै बाँकी काम चाँडै सम्पन्न गर्न निर्देशन दिएका छन्। बाँध क्षेत्रको निर्माण पूरा भइसकेको छ भने सुरुङमार्गको मर्मतसमेत अन्तिम चरणमा छ जसमा १५ दिनपछि पानी हालिनेछ।
विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरणहरुको परीक्षण कार्य भइरहेको छ। यसैका आधारमा आयोजनाले अब एक महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने तयारी गरेको छ।
राज्यमन्त्री पूर्ण बहादुर तामाङले आयोजनाबाट उत्पादित विद्युत् बाह्रबिसे सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने जानकारी दिएका छन्। आयोजनाको अनुमानित लागत १६ अर्ब रुपैयाँ पुगेको छ, जसमा ५० प्रतिशत स्वपूँजी र ५० प्रतिशत ऋणबाट जुटाइएको हो।
मध्यभोटेकोशीबाट वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन हुने र यसबाट कम्पनीलाई वार्षिक २ अर्ब ८० करोड रुपैयाँ आम्दानी हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया