काठमाडौँ । प्रिफ्याब्रिकेटेड निर्माण सामग्री उत्पादनमा अग्रणी एसवाई प्यानल नेपालले आफ्नो व्यापारिक गतिविधिमा उल्लेखनीय सुधार गरेको छ। कम्पनीले सन् २०१९ मा २४ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२३ सम्म आइपुग्दा यो आम्दानी ५२ करोड २० लाख रुपैयाँमा पुगेको हो। आगामी वर्ष सन् २०२४ मा यो आम्दानी ६३ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ।
वित्तीय स्थायित्वमा पनि कम्पनीले सन्तोषजनक प्रगति गरेको छ। सन् २०२० मा १७ प्रतिशत घाटा व्यहोरेको कम्पनीले सन् २०२१ देखि २०२३ सम्ममा क्रमशः २० प्रतिशत, १४ प्रतिशत, र १३ प्रतिशत नाफा कमाउन सफल भएको हो। कम्पनीले ऋण व्यवस्थापनमा सक्षमता देखाउँदै कर्जा (साफल सम्पत्ति अनुपात २०१९ मा ०.१६ बाट घटाएर २०२३ मा ०.०१ मा झारेको छ।
कम्पनीको व्यवसायिक सुधारसँगै एसवाई प्यानलले ५२ करोड ३२ लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने तयारीमा छ। नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको कम्पनीले अनुमति प्राप्त भएपछि प्रक्रिया अघि बढाउने जनाएको हो।
एसवाई प्यानलको मुख्य उत्पादन चितवनको रत्ननगरमा अवस्थित छ, जहाँ ऊर्जा दक्षता र टिकाउपनलाई ध्यानमा राखेर निर्माण सामग्री उत्पादन गरिन्छ। कम्पनीको ६३ प्रतिशत हिस्सेदारी कोरियाली एसवाई कम्पनीको रहेको छ जसले कम्पनीलाई निरन्तर आर्थिक सहयोग गर्दै आएको छ।
कम्पनीको व्यवसायिक विस्तार र आर्थिक स्थायित्वले आगामी आइपीओमा लगानीकर्ताहरूको आकर्षण बढ्ने अनुमान गरिएको छ।
प्रतिक्रिया