काठमाडौँ । कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) को १५औँ महाधिवेशनले सुनैना घिमिरे पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। पुस १३ गते सम्पन्न महाधिवेशनमा पाण्डे निर्विरोध निर्वाचित हुँदै महासंघको पहिलो महिला अध्यक्ष बनेकी हुन्। उनले यसअघि महासंघमा विभिन्न भूमिकामा काम गर्दै अनुभव बटुलेकी थिइन्।
पाण्डेको नेतृत्वमा हर्क बहादुर सेटी, चिरञ्जीवी अधिकारी, नविन जोशी, शेखरनाथ दुलाल, सुभाष खड्का, सिर्जना श्रेष्ठ (उपाध्यक्षहरू), चन्द्र विलास भुर्तेल (महासचिव) र विक्रम सिंह (कोषाध्यक्ष) लगायतका पदाधिकारी निर्वाचित भएका छन्। कार्यकारिणी समिति र लेखासमितिमा समेत विविधतायुक्त नेतृत्व चयन भएको छ।
पाण्डेले सूचना प्रविधि क्षेत्रलाई नेपालको प्रमुख आर्थिक र रोजगारी क्षेत्रका रूपमा विकास गर्न नीतिगत सुधारका लागि पहल गर्ने बताइन्। महासचिव भूर्तेलले क्यान महासंघको कार्यक्षेत्र विस्तार र संस्थागत सुधारमा ध्यान दिने प्रतिवद्धता जनाए। १९९२ मा स्थापना भएको क्यान महासंघले २०१५ मा महासंघमा रूपान्तरण भएपछि सातै प्रदेश र ७४ जिल्लामा शाखा विस्तार गर्दै सूचना प्रविधि क्षेत्रको विकासमा अग्रणी भूमिका खेलेको छ।
प्रतिक्रिया