काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले “नेपाल लाइफ रक्षा कवच जीवन बीमा योजना” सार्वजनिक गरेको छ। पुस १८ गते काठमाडौंमा आयोजित विशेष समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यो योजना घोषणा गरेका हुन्।
यो योजना न्यूनतम बीमाशुल्कमा उच्चतम सुरक्षा प्रदान गर्ने उद्देश्यले म्यादी जीवन बीमाको रुपमा ल्याइएको हो। यसमा बीमाङ्क रकम न्यूनतम रु. ५ लाखदेखि अधिकतम रु. १ करोडसम्म राखिएको जहाँ बीमितको उमेर १८ देखि ५९ वर्षभित्र हुनुपर्ने कम्पनीले जनायको छ ।
कम्पनीका अनुसार बीमा अवधि १ वर्षदेखि ३५ वर्षसम्म तोकिएको छ। बीमा अवधिभित्र बीमितको मृत्यु भएमा बीमाङ्क रकम तुरुन्त भुक्तानी गरिनेछ। यसलाई मूल बीमा योजनासँग गाभेर वा छुट्टै बीमालेखका रूपमा लिन सकिन्छ। कार्यक्रमका दौरान प्रमुख कार्यकारी अधिकृत पराजुलीले जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राख्दै यो योजना बजारमा पस्किन पाएकोमा खुशी व्यक्त गरे।
कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल र नेसनल सेल्स हेड उमापति पोखरेलले यस योजनाले बीमाको दायरा बढाउँदै हरेक वर्गको पहुँचमा ल्याउने विश्वास व्यक्त गरे। कर्मचारी र अभिकर्तालाई योजनाको प्रभावकारी बजारीकरण गर्न अनुरोध गर्दै उनीहरूले न्यून शुल्कमा उच्च सुरक्षा प्रदान गर्ने यो योजना बीमा क्षेत्रमा कोसेढुङ्गा सावित हुने दाबी गरे।
लेखकको बारेमा

प्रतिक्रिया