काठमाडौँ। आन्तरिक राजश्व विभागले गुलगल तथा फेसबुक जस्ता विदेशि कम्पनीहरुबाट कर उठाउन डलर खाता खोलेको छ। नेपालमा सेवा दिइरहेका तर, करको दायरामा नआएका विदेशी कम्पनीहरुबाट कर अशुल्न विभागले राष्ट्र बैंकमा डलर खाता खोलेको हो।
डिजिटल सर्भिस ट्याक्स (डीएसटी) लागू भएपछि ठूला प्रविधि कम्पनी र सामाजिक सञ्जाल प्लेटफर्महरुले नेपालमा कर तिर्नुपर्ने हुन्छ। जसअनुसार वैदेशिक करदाता कम्पनीलाई सजिलो होस भनेर डलर खाता खोलिएको हो ।
नेपालमा विद्युतीय सेवा प्रदान गर्ने विदेशी कम्पनीहरुले आन्तरिक राजश्व विभागको नेपाल राष्ट्र बैंकमा खोलिएको डलर खातामा करबापतको रकम जम्मा गर्न सक्नेछन् । विभागले नेपालको कर प्रणालीमा आवद्ध भएका ठूला विदेशी प्रविधि कम्पनीहरु माइक्रोसफ्ट र गुगलले सहजै कर दाखिला गर्न सक्ने गरी प्रक्रियागत सरलीकरणको माग गरेपछि राष्ट्र बैंकमा यस सम्बन्धि छुट्टै खाता खोलिएको जनाएको छ ।
सरकारले डीएसटी कार्यान्वयनमा ल्याएपछि ठूला करदाता कार्यालयबाट माइक्रोसफ्ट र गुगलले नेपाली स्थायी लेखा नम्बर (प्यान) लिइसकेको विभागले जनाएको छ। अब विदेशी कम्पनीले डीएसटी तथा मूल्य अभिवृद्धि कर (भ्याट) बापतको शुल्क विभागको राष्ट्र बैंकमा रहेको डलर खातामा जम्मा गर्न सक्ने छन् । यस्ता कम्पनीहरुले नेपालमा बुझाउनुपर्ने कर रकम अमेरिकी डलरमा दाखिला गर्नुपर्नेछ ।
फेसबुक, ट्वीटर, युट्युबसहित माइक्रोसफ्ट, गुगल लगायत थुप्रै प्रविधि कम्पनीहरुको सेवा नेपालमा सञ्चालन भइरहेको छ । तर, अहिलेसम्म उनीहरुले गर्ने कारोबारबापत नेपालमा कर तिरेका छैनन् । अब यस्ता कम्पनी तथा प्लेटफर्मलाई करको दायरामा ल्याउन सरकारले नीतिगत व्यवस्था गरेको हो ।
विश्वकै ठूलो प्रविधि कम्पनी गुगल एलएलसी नेपालको कर प्रणालीमा दर्ता भएकोमध्ये अहिले सम्मकै ठूलो अन्तर्राष्ट्रिय प्रविधि कम्पनी हो ।
आर्थिक ऐन, २०७९ ले वार्षिक २० लाख रुपियाँभन्दा बढीको कारोबार गर्ने गैर–बासिन्दा व्यक्ति डिजिटल सर्भिस ट्याक्सअन्तर्गत दर्ता हुनुपर्ने व्यवस्था गरेको छ । यसरी दर्ता भएका गैरबासिन्दा व्यक्तिले वर्षअनुसार आफ्नो कारोबारको विवरण तथा कर दाखिल गर्नुपर्नेछ ।
तोकिएको समयभित्र कर दाखिल नगरेमा प्रतिवर्ष वार्षिक कारोबार रकमको ०.१ प्रतिशतका दरले हुने रकम जरिवाना लाग्नेछ । वार्षिक १५ प्रतिशतका दरले ब्याज पनि लाग्नेछ ।
प्रतिक्रिया