काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आर्थिक वर्ष २०८०/८१ मा आफ्नो कार्यसम्पादन ९८.९९ प्रतिशत रहेको दाबी गरेका छन्। बिहीबार उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मुख्य कार्यसम्पादन सूचकांकसहित प्रतिवेदन पेश गरेका थिए। घिसिङको नेतृत्वमा प्राधिकरणले सुधारात्मक कदममार्फत लगातार प्रगति गर्दै आएको छ।
प्राधिकरणले आर्थिक वर्ष २०७२/७३ मा आठ अर्ब ८९ करोड घाटाबाट सुधार गर्दै २०७३/७४ मा एक अर्ब ५० करोड नाफा गरेको थियो। यस वर्ष प्राधिकरणको सञ्चित नाफा ४७ अर्ब ४१ करोड पुगेको छ। २०८०/८१ मा १४ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाउँदै विद्युत चुहावट १२.७३ प्रतिशतमा झार्न सफल भएको छ जुन आठ वर्षअघि २५.७८ प्रतिशत थियो।
विगत आठ वर्षमा विद्युतीकरणमा पनि उल्लेखनीय प्रगति भएको छ। आर्थिक वर्ष २०७२/७३ मा ५८ प्रतिशत विद्युतीकरण रहेकोमा यो संख्या हाल ९९ प्रतिशत पुगेको छ। प्राधिकरणले विद्युत आपूर्तिको गुणस्तर सुधार, ठूला जलविद्युत आयोजनाको प्रवर्द्धन, आन्तरिक खपत वृद्धि, र अतिरिक्त विद्युत निर्यातलाई प्राथमिकतामा राख्दै ठोस उपलब्धि हासिल गरेको छ।
भारतलाई विद्युत निर्यात गर्दै प्राधिकरणले गत वर्ष १७ अर्ब सात करोड रुपैयाँ आम्दानी गरेको छ। विद्युत निर्यातले आयातभन्दा करिब १३ करोड रुपैयाँ बढी योगदान गर्दै नेपाललाई खुद विद्युत निर्यातकर्ता बनाएको छ।
प्रतिक्रिया