वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मंगल ग्रहको ‘रातोपन’को रहस्य: वैज्ञानिकहरूले देखे पानीको संकेत

अर्थलगानी
२०८१ फाल्गुन १६, शुक्रबार

काठमाडौं – मंगल ग्रह किन रातो देखिन्छ भन्ने प्रश्नले वैज्ञानिकहरूलाई लामो समयदेखि आकर्षित गर्दै आएको छ। हालै भएको एक अध्ययनले मंगल ग्रहको सतह रातो देखिनुको पछाडि नयाँ कारण देखाएको छ— पानीयुक्त खनिज फेरिहाइड्राइट।

ब्राउन विश्वविद्यालय र बर्न विश्वविद्यालयका वैज्ञानिकहरूको अनुसन्धान अनुसार मंगल ग्रहको सतहमा पाइने रातो धूलोको मुख्य स्रोत फेरिहाइड्राइट हुनसक्छ, जुन पानीयुक्त वातावरणमा बन्ने एक प्रकारको आइरन अक्साइड हो। “मंगल ग्रहको रातोपनको रहस्य समाधान गर्ने दिशामा हाम्रो अनुसन्धान महत्त्वपूर्ण प्रमाण हुन सक्छ,” अनुसन्धानकर्ता एडोमास भालान्तिनास भन्छन्।

मंगल ग्रहमा कहिल्यै पानी थियो?

यसअघि वैज्ञानिकहरू मंगल ग्रहमा रातो धूलो हुनुको मुख्य कारण हेमाटाइट खनिजलाई मान्दै आएका थिए, जुन सुख्खा वातावरणमा बनिन्छ। तर नयाँ अनुसन्धानले फेरिहाइड्राइट पानीको उपस्थितिमा बन्ने भएकाले कुनै समय मंगल ग्रहमा पानी रहेको संकेत दिएको छ।

यो खोजले अरबौँ वर्षअघि मंगल ग्रहको वातावरण पृथ्वीको प्रारम्भिक अवस्थाजस्तै हुनसक्ने अनुमानलाई बल दिएको छ। चिसो पानीमा बन्ने फेरिहाइड्राइटको उपस्थितिले त्यहाँ अक्सिजनयुक्त वातावरण समेत रहेको पुष्टि गर्न सक्छ।

नयाँ प्रमाण र भविष्यमुखी अनुसन्धान

अनुसन्धानकर्ताहरूले आफ्नो निष्कर्ष नासाको मार्स रिकनिसेन्स अर्बिटर, युरोपेली अन्तरिक्ष एजेन्सीको मार्स एक्सप्रेस तथा विभिन्न रोभरहरूबाट प्राप्त तथ्यांकहरूको तुलनाका आधारमा निकालेका हुन्। अब मंगल ग्रहबाट पृथ्वीमा ल्याइने नमुनाहरू अध्ययन गरेपछि थप प्रमाणित हुन सक्ने अनुमान गरिएको छ।

यो अनुसन्धानले मंगल ग्रहमा जीवनको सम्भावनाबारे हुने भविष्यका अध्ययनहरूलाई नयाँ आधार दिएको वैज्ञानिकहरूको भनाइ छ। “हाम्रो खोजले मंगल ग्रहको इतिहासको नयाँ पाटो उजागर गरेको छ, जुन भविष्यका मिसनहरूका लागि मार्गनिर्देशक बन्न सक्छ,” अनुसन्धानकर्ता ज्याक मस्टार्ड बताउँछन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी