काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत स्तरोन्नति भइरहेका साँगा–धुलिखेल सडकखण्डको कालोपत्र सुरु भएको छ। सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाअनुसार धुलिखेलबाट बनेपातर्फको तीन किमी सडक आगामी असार मसान्तभित्र कालोपत्र गर्ने लक्ष्य छ।
छ लेनमा विस्तार भइरहेको यस सडकको कालोपत्र कार्य अहिले धुलिखेल मुख्यचोकदेखि बाँसघारीसम्म प्रारम्भ गरिएको हो। आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालका अनुसार अहिले पहिलो तहको कालोपत्र सकिएर दोस्रो तहको काम भइरहेको छ। आधुनिक प्रविधिबाट भइरहेको कालोपत्रको कुल मोटाइ ८० सेमी रहनेछ। यसमा ३०–३५ सेमी ‘सबबेस’, २० सेमी ‘सिटिपी’, १० सेमी ‘क्र्याक–रिलिफ लेयर’, ११–१३ सेमी ‘डिबिएम’ र अन्त्यमा ६ सेमीको ‘अस्पाल्ट कङ्क्रिट लेयर’ राखिनेछ।
१६ किमी लामो सूर्यविनायक–धुलिखेल सडकखण्ड दुई खण्डमा विस्तार भइरहेको छ — सूर्यविनायक–साँगा ९७।५ किमी० र साँगा–धुलिखेल ९८।५ किमी०। दुबै खण्डको ठेक्का सन् २०७९ मा क्रमशः मंसिर र पुस महिनामा सम्झौता गरिएको हो। कुल लागतमध्ये सूर्यविनायक–साँगा खण्डको ठेक्का रकम ३ अर्ब ८८ करोड ९३ लाख र साँगा–धुलिखेल खण्डको ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँ रहेको छ।
छ लेनको यो सडक दुई सर्भिस लेन र चार मेन लेनसहित निर्माण भइरहेको छ। हालसम्म साँगा–धुलिखेल खण्डको करिब ५० प्रतिशत भौतिक प्रगति भइसकेको छ। असार मसान्तभित्र तीन किमी कालोपत्र कार्य सम्पन्न गरी ६० प्रतिशत प्रगति पुर्याउने आयोजनाको लक्ष्य छ।
वर्षेनी बढ्दो ट्राफिक जामलाई सम्बोधन गर्न यो सडक विस्तार गरिएको हो। चीनसँगको छोटो दूरीको तातोपानी नाका खुला भएपछि अरनिको राजमार्ग हुँदै दैनिक २,५०० भन्दा बढी लामो दूरीका सवारी सञ्चालनमा रहेका छन्।
प्रतिक्रिया