वि.सं. २०८२ असार ४, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जेठ १४ गतेदेखि ट्रेड टावर लिमिटेडको आईपीओ खुला

अर्थलगानी
२०८२ जेष्ठ ५, सोमबार

काठमाडौँ। ट्रेड टावर लिमिटेडले आगामी जेठ १४ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन खुला गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी पहिले नै निष्काशन गरिएको शेयर बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आईपीओ खुला गर्न लागेको हो।

कम्पनीले कुल जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँमध्ये ४८.६९६ प्रतिशतका दरले ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।

यसमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३ लाख ९७ हजार १६९.३० कित्ता, सामूहिक लगानी कोषका लागि १ लाख ९८ हजार ५८४.६५ कित्ता, र कर्मचारीका लागि ७९ हजार ४३३.८६ कित्ता शेयर आरक्षित गरिई बाँडफाँट भइसकेको छ। बाँकी रहेका ३२ लाख ९६ हजार ५०५.१९ कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिँदैछ।

सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशन अवधि छिटोमा जेठ १९ गतेसम्म रहनेछ भने उक्त अवधिमा पूरै आवेदन नपरेमा निष्काशन अवधि जेठ २८ गतेसम्म लम्बिन सक्नेछ।

यस आईपीओको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सबै आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखाहरू, तथा ‘मेरो शेयर’ पोर्टलमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी