काठमाडौँ। नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीको लाजिम्पाटस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा कम्पनीको सञ्चालक समितिकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको उपस्थितिमा साभारणसभा सम्पन्न भएको हो।
सभाले हाल कायम चुक्ता पूँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार रूपैयाँको १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर र यसका लाग्ने कर तिर्न ०.७८९४७३ प्रतिशत नगद लाभांश समायोजन गर्ने प्रस्ताव पारित गरेको छ।
साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्ष नियुक्ति गरेको छ।
साधारणसभामा बोल्दै कम्पनीको सञ्चालक समितिकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले आगामी आर्थिक वर्षको साधारणसभा समयमै गर्ने कुरामा कम्पनी प्रतिवद्ध रहेको र एक्चुरी भ्यालुएसनमा समस्या भएकाले ढिला भएको बताइन्।
कम्पनीको यही सभाले संस्थापक समूह ‘क वर्ग’ बाट ३ जना र सर्वसाधारण लगानीकर्ता ‘समूह ख’ बाट २ जना सञ्चालकको निर्वाचन समेत गरेको छ।
सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले जेठ २२ गते एक दिनका लागि बुक क्लोज गरेको थियो। यसर्थ जेठ २१ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरूले पारित लाभांश प्राप्त गर्नेछन्।
प्रतिक्रिया