काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा कुल नाफा नाफा ८७.१७ प्रतिशतले बढाएको छ। अघिल्लो वर्ष १२ करोड ८६ लाख ५६ हजार रुपैयाँ नाफा गरेको कम्पनीले गत वर्ष आईपुग्दा भने २४ करोड ८ लाख १३ हजार रुपैयाँ नाफा कमाएको हो।
कम्पनीले मंगलबार सार्वजनिक गरेको गत वर्ष २०७९–८० को अपरिष्कृत चौंथो त्रैमासिक वित्तीय विवरण अनुसार समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन पनि १६.४८ प्रतिशतले बढेर ४ अर्ब १ करोड ६५ लाख १३ हजार रुपैयाँ पुगेको छ । कम्पनीको हालसम्मको कुल बीमा शुल्क आर्जन भने १३ अर्ब ४५ करोड ८९ लाख ५४ हजार रुपैयाँ रहेको छ । समिक्षा अवधिमा कम्पनीको कुल कायम रहेको बीमालेखको संख्या भने ४ लाख २५ हजार ७५४ वटा रहेको छ ।
समिक्षा अवधिमा कम्पनीले बीमालेखको धितो कर्जाबाट ५ करोड ३८ लाख ९७ हजार रुपैयाँ आम्दानी गरेको छ। कम्पनीले गत वर्ष बीमालेखको धितोमा ५० करोड ७१ लाख ३७ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो। समिक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिशनका लागि ४६ करोड ४२ लाख रुपैयाँ खर्चिएको छ भने कर्मचारी बोनस व्यवस्थाका लागि २ करोड ६८ लाख रुपैयाँ बढी रकम छुट्याएको छ ।
गत वर्ष कम्पनीले २ अर्ब ९१ करोड ८५ लाख ७६ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीले सो अवधिमा २ हजार २५० वटा दावी भुक्तानी गरेको हो । भुक्तानी हुन बाँकी दावी रकम भने ६६ लाख ८८ हजार रुपैयाँ मात्रै रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार १९ दावी भुक्तानी हुन् बाँकी रहेको कम्पनीले जनाएको छ ।
कम्पनीको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषको आकार भने ३.४९ गुणाले बढेर २ अर्ब ७१ करोड ३८ लाख ७३ हजार रुपैयाँ पुगेको छ । कम्पनीको जीवन बीमा कोषको आकारमा पनि थप बलियो देखिएको छ । समिक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ४३।२४ प्रतिशतले बढेर ६ अर्ब ७५ करोड १५ लाख ९४ हजार रुपैयाँ पुगेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ २ पैसा र प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ५ पैसा रहेको छ ।
प्रतिक्रिया