काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौता छिट्टै हुने दाबी गरेका छन् । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री बस्नेतले सम्झौता सम्बन्धी यसैवर्ष औपचारिक रुपमा घोषणा गरिने बताएका हुन् ।
नेपाल विद्युत्मा आत्मनिर्भर हुन लागेको बताउँदै उनले भने,‘‘औपचारिकता दिनुपर्ने केही काम बाँकी छन्, त्यो पनि अन्तिम चरणमा आइपुगेको छ । सम्झौतापछि कार्यान्वयनमा जान्छ । हामी पूर्णरुपमा आत्मनिर्भर बन्दैछौँ, यससँगै सबै समस्याको समाधान हुन्छ ।’
पचास प्रतिशत क्षेत्रमा मात्रै भएको विद्युतीकरणलाई बढाएर ९८ प्रतिशत क्षेत्रमा पु¥याएको भन्दै उनले हाल देखिएका समस्या छिट्टै समाधान हुने दाबी गरे ।
‘अबको सुख्खा सिजनमा अहिले देखिएका समस्या समाधान भएर जान्छन्, उनले भने, ‘सरकारले एकीकृत योजनाका साथ ऊर्जा क्षेत्रको उत्पादन, प्रसारण र वितरण प्रणालीलाई व्यवस्थित गर्ने काम गरिरहेको छ ।’
एकीकृत योजनाका साथ सर्वसुलभ रुपमा विद्युत् व्यापार गर्ने विषयलाई समेत ध्यानमा राखेर अघि बढीरहेको उनको भनाइ छ ।
प्रतिक्रिया