एनआईसी एशिया बैंकका दुई कर्मचारीमाथि कुटिपीट भएको प्रति बैंक तथा वित्तीय संस्था परिसंघले आपत्ती जनाएको छ। मिति २०७९ चैत्र २ गतेका दिन गण्डकी प्रदेशको म्याग्दी जिल्लास्थित एनआईसी एसिया बैंकको शाखा कार्यालयका शाखा प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि नियोजितरुपमा गरिएको सांघातिक आक्रमण गरी गंभिर घाइते बनाइएको घटनाको सिबिफिन भत्र्सना गरेको हो।
सिबिफिनले निहित स्वार्थ पूर्तिका लागि बैंकिङ जस्तो संवेदनशील एवं अत्यावश्यक क्षेत्रमाथिको ज्यादति र निमुखा कर्मचारीको ज्यानै लिने उद्देश्यसहित घटाइएका यस्ता बर्बर र आततायी घटनामा संलग्न दोषीहरुलाई हदैसम्मको कारवाही गर्न समेत नेपाल सरकार, गृह मन्त्रालय र मातहतका सुरक्षा निकायसमक्ष जोडदार माग समेत गरेको छ।
बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र कर्मचारीहरुमाथि दुव्र्यवहार गर्ने, लुटपाट गर्ने, कार्यालय बन्द गर्न धम्की दिने जस्ता अराजक गतिविधि र आक्रमण गर्ने जस्ता कार्यहरु दैनानुदिन बढिरहेकोप्रति सिबिफिनले गम्भिर आपत्ती जनाएको हो।
वार्ता तथा संवादको माध्यमबाट कुनै पनि समस्याको उचित समाधान निकाल्नका लागि आवश्यक पहल गर्न र बैंकिङ सेवालाई भयरहित वातावरणमा संचालनका लागि आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउनका लागि नेपाल सरकार, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, मातहतका सुरक्षा निकाय र सम्बन्धित सबैमा बारम्बार अपिल गरिरहेकै बखतमा बैंकका कर्मचारी माथि गरिएका यस्ता निर्मम एवं हिंस्रक घटनाले नेपाल सरकारको शान्ति सुरक्षाको व्यवस्थाको खिल्ली उडाएको र समग्र अर्थव्यवस्थामाथि नै प्रहार भएको अनुभूत भएको सिबिफिनले जनाएको छ।
‘आन्तरिक तथा बाह्य कारणबाट देशको अर्थतन्त्र नै अत्यन्तै जोखिमपूर्ण अवस्थाबाट गुज्रिरहेको वर्तमान अवस्थालाई समेत मनन गरी बैंकिङ सेवालाई निर्वाधरुपमा संचालन हुने वातावरण सृजना गर्न र आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउन नेपाल सरकार, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, सुरक्षा निकायसहित सम्बन्धित सबैमा पुनः हार्दिक अपिल गर्दछौं ।’ सिबिफिनद्धारा जारी विज्ञप्तिमा लेखिएको छ।
प्रतिक्रिया