काठमाडौँ। नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सहकारीका समस्याहरू समाधान गर्न पाँचबुँदे सुझाव प्रस्तुत गरेको छ। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको बैठकमा गभर्नर महाप्रसाद अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्न पाँच बुँदामा आधारित योजना अघि सारेका हुन्।
गभर्नर अधिकारीले तीन चरणमा बचत फिर्ता गर्न सकिने योजना प्रस्तुत गरे। पहिलो चरणमा एक लाखसम्म, दोस्रो चरणमा पाँच लाखसम्म र तेस्रो चरणमा पाँच लाखभन्दा बढी बचत हुने बचतकर्ताका रकम फिर्ता गर्न सकिने योजना उनले अघि सारेका हुन्।
समस्या समाधान गर्न ुडेडिकेटेडु समूह बनाउने, समस्याग्रस्त बैंकका समस्या समाधान गर्दा अपनाइएका तरिकाका आधारमा अघि बढ्न सकिने प्रस्ताव पनि राष्ट्र बैंकले अघि सारेको छ। भूगोलको सीमा नराखी कारोबार गरेका सहकारीका विषयमा आवश्यक व्यवस्था गर्नुपर्ने गभर्नर अधिकारीको सुझाव थियो।
सहकारीलाई नियमन गर्ने निकायको स्थापना गरिनुपर्ने, सहकारी स्वनियममा चल्छन् भनी छोड्न नहुने, ऋणीका बारेमा सहकारीलाई कुनै जानकारी नहुने गरेकाले त्यो समस्या समाधानको उपया विषय निश्चित गर्न पनि विज्ञहरूले सुझाएका छन्। बैठकमा कर्जा सूचना केन्द्रका प्रमुख कार्यकारी अधिकृत अनिलचन्द्र अधिकारीले विद्यमान स्थितिमा एउटै केन्द्रले काम गर्न सकिने उल्लेख गर्दै आवश्यक कानुनी व्यवस्था मिलाउनुपर्नेमा जोड दिए।
कर्जा सूचना केन्द्रमा एकीकृत सूचना प्रणालीको व्यवस्था गरिनुपर्ने उनको सुझाव थियो। बीमा र सहकारीका विषयमा छुट्टै सूचना केन्द्र स्थापना गरिनुपर्ने सुझाव पनि बैठकमा प्रस्तुत गरिएको थियो। नेपाल बैंकर्स एशोसियसनका अध्यक्ष सुनील केसीले सहकारीको जस्तो समस्या अरु वित्तीय संस्थामा पनि आउनसक्ने तर्फ सचेत गराउँदै समस्या छिटो समाधान गरिनुपर्ने बताए।
अघिल्लो सहकारी सुझाव कार्यदलका संयोजक डा। जयकान्त राउतले सुझाव कार्यान्वयन नभएकैले सहकारी क्षेत्रमा समस्या बढ्दै गएको बताए। सहकारीको मूल्य र सिद्धान्तका आधारमा चलेका सहकारीमा समस्या नरहेको र सिद्धान्तविपरीत चलेका सबैजसो सहकारी समस्यामा रहेको उनले सुनाए। सहकारी क्षेत्रमा ऋण असुली न्यायाधीकरणको स्थापना गरिनुपर्ने पनि विज्ञहरूको राय छ।
बैठकमा सभापति सूर्यबहादुर थापाले सरकारले पीडित बचतकर्तालाई पैसा दिन सक्छ वा सक्दैन भन्ने विषयमा छलफल भइनसकेको बताए। बचत फिर्ता गर्नु सम्बन्धित सहकारीको मुख्य काम हो भन्ने छलफल भइरहेको उनले बताए। आगामी आर्थिक वर्षको बजेटमा रु पाँच लाखसम्म बचत हुनेलाई फिर्ता गर्ने विषय उल्लेख भएपछि केही सहकारीले बचत टुक्रा बनाएर रु पाँच लाखभन्दा कम बनाउने बदमासी गर्न थालेको सूचना समितिले पाएको जानकारी गराएको थियो। समितिको भोलिको बैठकमा सहकारी विभागको रजिष्ट्रार भई २०४८ पछि काम गरेका अधिकारीहरूलाई बोलाइएको छ। त्यसपछिको बैठकमा सहकारी पीडितलाई बोलाएर छलफल गरिने जनाइएको छ।
प्रतिक्रिया