काठमाडौं | बजारमा अत्यधिक तरलता बढेपछि नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ६० अर्ब रूपैयाँ फिर्ता लिने निर्णय गरेको छ। यो रकम निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) मार्फत आज (बुधबार) उठाइनेछ।
राष्ट्र बैंकले यसका लागि ४२ दिनको अवधिका लागि बोलकबोल प्रणालीमार्फत रकम संकलन गर्न लागेको हो। बोलकबोल प्रक्रिया आज दिउँसो ३ बजे तोकिएको छ।
१० करोड न्यूनतम र बहुब्याजदरमा बोलकबोल गर्न सकिने
बोलकबोलमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रूपैयाँदेखि प्रस्ताव गर्न सक्नेछन्। अधिकतम सीमा भने ५ करोड रूपैयाँको गुणनफलमा आउने रकमसम्म निर्धारण गरिएको छ।
सावाँ तथा ब्याज भुक्तानी साउन १८ गते गरिनेछ। बोलकबोलमा ब्याज दर प्रतिस्पर्धात्मक हुने र बहुब्याजदरको पनि व्यवस्था गरिएको छ।
‘क’, ‘ख’ र ‘ग’ वर्गका संस्था मात्र सहभागी
राष्ट्र बैंकले यस बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने स्पष्ट पारेको छ।
बोलकबोल मार्फत संकलन गरिने यो रकमले बैंकिङ प्रणालीभित्रको अत्यधिक तरलता घटाउने तथा नकद प्रवाहलाई सन्तुलित बनाउने उद्देश्य राखिएको बताइएको छ।
प्रतिक्रिया