काठमाडौँ। आज पुस ११ गते, बुधबार तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण गर्न हाथवे इन्भेष्टमेन्ट, तारागाउँ रिजेन्सी होटल र फर्स्ट माइक्रोफाइनान्सले भोली (पुस १२ गते) बुकक्लोज गर्न लागेका हुन।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
हाथवेले पुस २६ गते, बिहीबार लैनचौर ब्याङ्क्वेट, लैनचौर काठमाडौँमा १५ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ। यसले हाल कामय चुक्ता पूँजीको १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १० प्रतिशत बोनस शेयर रहेको छ भने ०.५२६ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।
त्यसैगरी, फर्स्ट माइक्रोफाइनान्सले पुस २८ गते, शनिबार आम्रपाली व्याङ्केट, भाटभटेनी, काठमाडौँमा चौधौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ। यसले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ७.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
यता तारागाउँ रिजेन्सीले भने पुस २४ गते, नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौँमा २७ औँ साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। यस कम्पनीले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले नगद लाभांश र ४ प्रतिशतका दरले बोनस शेयर गरी कुल १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
प्रतिक्रिया