काठमाडौं | सान्भि इनर्जी लिमिटेडको साधारण सेयर (IPO) आज दिउँसो ३ बजे बाँडफाँट हुने भएको छ। कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा लॉटरी प्रणालीमार्फत सेयर बाँडफाँट गरिनेछ।
कम्पनीको सार्वजनिक निष्कासनमा अत्यधिक आवेदक देखिएको छ। जारी सेयरभन्दा करिब साढे १० गुना बढी माग परेकाले बाँडफाँट गोलाप्रथाबाट हुनेछ। उपलब्ध तथ्यांकअनुसार, कुल २१ लाख ८ हजार २३२ जना आवेदकले २ करोड ५८ लाख ९० हजार ६२० कित्ताका लागि आवेदन दिएका थिए।
तर, सीमित सेयर संख्या उपलब्ध भएकाले २ लाख ४१ हजार ५३० जना मात्र भाग्यशाली भई सेयर प्राप्त गर्नेछन् भने १८ लाख ६६ हजार ७०२ जना आवेदक भने सेयर प्राप्तिबाट वञ्चित हुने निश्चित भएको छ।
सान्भि इनर्जीले जेठ ९ गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता रू. १०० मा कुल २४ लाख १५ हजार ३०० कित्ता सेयर सार्वजनिक निष्कासन गरेको थियो। जसअनुसार कम्पनीले रू. २४ करोड १५ लाख ३० हजार बराबरको पूँजी संकलन गरेको छ।
अबको केही समयपछि निष्कासन भएको सेयरलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गरी दोस्रो बजारमा कारोबार सुरु गरिनेछ। बाँडफाँट सम्पन्न भएपछि सम्बन्धित बैंक तथा मेरोकैपिटल एपमार्फत नतिजा हेर्न सकिनेछ।
प्रतिक्रिया