काठमाडौँ । बिहीबार नेप्से सूचक २२ सयको माथिको बिन्दुमा पुगेको छ । नेप्से २९.२१ अंकले बढेर २२०४.६१ अंकमा पुगेको हो ।
यस दिन ७ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। जीवन बीमा समूह सबैभन्दा बढी बढेको छ भने वाणिज्य बैंक समूहमा पनि राम्रो वृद्धि भएको छ।
आज बजार एक वर्ष यताकै उच्च विन्दुमा पुगेर बन्द भएको छ। यसअघि २०८० साउन ८ गते नेप्से २२ सय विन्दुमा बन्द भएको थियो। पछिल्लो समय सेयर बजारले लगानीकर्ताको मनोबल उठाउन थालेको छ।
विशेषगरी, अर्थतन्त्रका बाह्य सूचकहरू सबल बन्दै गएको र ठूला दुई दल मिलेर सरकार चलाउने सहमतिले पनि लगानीकर्ताको विश्वास बढेको छ। अर्थमन्त्रीको चर्चा र आगामी मौद्रिक नीतिको लचिलो व्यवस्थाका कारण बजारले सकारात्मक संकेत देखाएको हो।
हाल सेयर धितो कर्जा र जोखिमभार मुख्य चुनौती बनेका छन्। यी समस्या समाधान भएमा बजारले गति लिन सक्ने जानकारहरू बताउँछन्। यस दिन ३३१ कम्पनीको २ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ। सीइडीबी हाइड्रोपावर १५ करोड २५ लाख रुपैयाँभन्दा बढीसहित अग्रस्थानमा रहेको छ।
प्रतिक्रिया