काठमाडौँ। नागरिक लगानी कोषको २९ औं वार्षिक साधारणसभा प्रा.डा. सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भयो। सभाले आर्थिक वर्ष २०७९–८० को आम्दानी बाँडफाँडमा प्रस्तावित १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांस स्वीकृत गर्यो।
सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरियो र पारित गरियो। लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पनि छलफल गरी पारित गरियो। अध्यक्ष थापाले कोषले वित्तीय र पुँजी बजारमा नेतृत्वदायी भूमिका खेलेको बताए। उनले मानव संसाधन विकासलाई उच्च प्राथमिकता दिएको र बैंक रिकन्सिलेसन कार्यको लागि छुट्टै टोली बनाइएको जानकारी दिए।
कार्यक्रममा कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले कोषको वर्तमान स्थिति बारे जानकारी दिए। सेयरधनीहरुबाट उठाइएका विषयहरु र सुझावहरुलाई सम्बोधन गर्दै उनले कोषको कारोबारलाई सूचना प्रविधि मैत्री बनाउने योजना प्रस्तुत गरे।
कार्कीले सेयरधनीहरुको संख्या पछिल्लो दुई वर्षमा ५५ प्रतिशतले बढेको कारण १४ प्रतिशत बोनस वितरण गरिएको बताए। आगामी दिनमा पनि १४ प्रतिशतभन्दा तल नआउने गरी बोनस दिने प्रतिवद्धता व्यक्त गरे।
सभामा प्रस्तुत विवरण अनुसार आर्थिक वर्ष २०८०–८१ को चैत मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम २ खर्ब ४८ अर्ब १ करोड रुपैयाँ पुगेको छ। उक्त अवधिमा कोषले २ खर्ब ३६ अर्ब ८० करोड रुपैयाँ लगानी गरेको छ।
प्रतिक्रिया