काठमाडौँ । संसदको अर्थसमितिको बैठकमा एमाले र कांग्रेसका सांसदहरु पूँजी बजारको विषयमा मतभेदमा देखिएका छन्। एमाले सांसदहरुले पूँजी बजारमा आएको उत्साहलाई समर्थन गर्दै आफ्नो दलको सरकारप्रति लगानीकर्ताको विश्वासको रुपमा लिएका छन्, भने कांग्रेस सांसदहरुले भने निरन्तर आलोचना गरेका छन्।
कांग्रेसका सांसद, विशेष गरी डा. प्रकाशशरण महतले पूँजी बजारमा अनावश्यक र अप्राकृतिक वृद्धि भएको भन्दै आलोचना गरेका छन्। यसै क्रममा, मंगलबार कांग्रेस सांसदहरुको नकारात्मक टिप्पणीका कारण सेयर बजारमा भारी गिरावट आएको थियो। तर, लगानीकर्ताहरुले पुनः मनोबल बढाएपछि बजारले बाउन्स ब्याक गर्यो।
अर्थसमितिमा आज पूँजी बजारका पछिल्ला समसामयिक विषय समस्याहरूमा छलफल गर्ने भन्दै अर्थसमितिको बैठक बिहान ११ बजे बोलाइएको थियो ।
सामान्यतया सेयर बजारमा कारोबार समयमा यसलाई प्रभाव पर्ने कुनै गतिविधि गर्नुहुँदैन । । तर, अर्थसमितिले पूँजी बजारको समस्या समाधान गर्ने, सोझालाई डूब्न नदिने भन्दै आज कारोबार समयमै बैठक चलिरहेको छ ।
अर्थसमितिको नेतृत्व कांग्रेस सांसद सन्तोष चालिसेले गरेका छन् । समितिको सदस्यमा डा. प्रकाशशरण महत पनि रहेका छन् ।
आजको अर्थसमिति बैठकमा एमालेका सांसदहरुले कारोबार समयलाई प्रभावित पार्न खोजिएको भन्दै संयोजक चालिसेको आलोचना गरे । एमाले सांसद सूर्य थापाले बैठकमा चालिसेले सेयर बजार प्रभावित पार्न खोजेको आरोप लगाए । ‘सामान्यतया बजार चलिरहेको बेला त्यसलाई प्रभावित पार्ने गतिविधि गर्नुभएन ।’ थापाले भने ।
तर, चालिसेले भने बजारको विकास र दिगोपनाकै विषयमा छलफल डाकिएको भन्दै लगानीकर्ता यही बैठककै कारण मनोबल गिर्ने अवस्थामा पुग्न नहुन जिकिर गरे ।
प्रतिक्रिया