काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लगातार पाँचौ दिन पनि गिरावट जारी रहेको छ। बजारका प्रमुख परिसूचक २६३२.९४ बिन्दुमा कायम रहेको छ। जुन हालको ३२०० बिन्दुको लक्ष्यभन्दा तल छ। लगानीकर्ताहरूले बजारको पुनरुत्थानको आशामा २८०० र २९०० बिन्दुमा शेयर खरिद गरे पनि पछिल्लो समय बजारको निरन्तर ओरालोले नवप्रवेशी लगानीकर्ताहरूलाई ठूलो नोक्सानी भोग्न बाध्य पारेको छ।
विशेषज्ञहरूको अनुसार, स–साना र नवप्रवेशी लगानीकर्तालाई माफियाहरूले गरिरहेका क्रियाकलापहरूको कारण बजारमा निरन्तर गिरावट देखिएको हो। यस अवस्थामा साना लगानीकर्ताहरू आफूलाई बचाउन शेयर बिक्रीतर्फ आकर्षित भएका छन्।
यद्यपि समग्रमा शेयर बजारको माहोल सकारात्मक देखिन्छ। सरकारले र नियामक निकायहरूले बजार सुधारका प्रयासहरू जारी राखेको छ। केन्द्रीय बैंकले खुकुलो मौद्रिक नीति अपनाउँदै लगानी बढाउनका लागि प्रोत्साहन दिइरहेको छ। बैंकहरूको ब्याजदर पनि घट्दो क्रममा रहेको छ जसले शेयर बजारमा सकारात्मक प्रभाव पार्न सक्छ।
आजको कारोबारमा ३२८ कम्पनीको १ करोड ९० लाख ७७ हजार ५८३ कित्ता शेयर किनबेच भएको छ, जसमा ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार रुपैयाँको कारोबार भएको छ। व्यापार समूहको शेयर मूल्य ०.७९ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन समूहको मूल्य स्थिर रहेको छ। अन्य ११ उपसूचकहरू राताम्य रहेकाले बजारमा नकारात्मक प्रवृत्ति कायम रहेको छ।
यस दिन, ६७ कम्पनीका शेयर मूल्य बढेका छन् भने १७० कम्पनीका शेयर मूल्य घटेका छन्।
प्रतिक्रिया