अर्थमन्त्री विष्णु पौडेलले नेप्सेको उतारचढावलाई नियन्त्रण गर्न पारदर्शी र परिपक्क ढंगले पुँजीबजारको विकास गर्ने योजना प्रस्तुत गरेका छन्। उनले इन्साइडर ट्रेडिङ र सामाजिक मिडिया क्याम्पियनहरूबाट लगानीकर्ताहरूलाई सुरक्षित राख्न विशेष ध्यान दिने बताए। साथै, व्यावसायीमैत्री वातावरण निर्माण गरेर उत्पादन वृद्धि गर्न र मुनाफाबाट कर तिर्न प्रोत्साहित गर्न योजना बनाएका छन्। यसले राजश्व संकलनलाई प्रभावकारी बनाउने र अर्थतन्त्रलाई स्थिर राख्न मद्दत पुर्याउने विश्वास गरिएको छ।
प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको संक्षिप्त अंशः
१.नेपाल धितोपत्र बोर्डले अधिकार पूर्ण नेतृत्व कहिले पाउँछ?
–धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षको नियुक्तिको प्रकिया यति जटिल (कम्प्लिकेटेड) हुनु हुँदैनथ्यो। म अर्थमन्त्री भएर आइपुग्दा यो एउटा अन्योलको अवस्थामा गरिएको थियो। अब कानुनसम्मत पारदर्शी ढंगले योग्य व्यक्ति अध्यक्षमा नियुक्ति हुन्छ। यत्ति नै समय भन्ने छैन तर छिटो भन्दा छिटो पक्रिया अगाडी बढ्छ।
२.तपाई अर्थमन्त्री हुने खबरसँगै बजार एकाएक बढ्यो र आज साउन २२ गते ठुलो अंकले घट्यो । यो किसिमको नेप्से सूचकको घटबढका रफ्तारलाई कसरी हेर्नुभएको छ?
–पुजीँबजारलाई वास्तवमा अर्थतन्त्रको ऐना हो भन्ने गरेका छौँ र हो पनि। त्यसकारणले पुजीँबजारको विकासको सन्दर्भमा हामीले पारदर्शी, परिपक्क ढंगले यसको विकासमा ध्यान दिनुपर्छ र दिइएको छ।
यसमा म विशेषगरि कुनै पनि लगानीकर्ताको लगानी नडुबोस् भन्नेमा होसियार हुनुपर्दछ भन्छु। खासगरी इन्साइडर ड्रेन्ड्रिङ, सोसियल मिडिया क्याम्पियन लगाएतका कुराहरुका कारण कुनै पनि लगानीकर्ता भिक्टिम हुनुहुँदैन भन्ने मेरो मान्यता छ। यो शेयर बजारको परिपक्क विकासमा अर्थमन्त्रालयले विशेष ध्यान दिएको छ।
३.राजश्व संकलन सधै चुनौतीपूर्ण देखिएको छ, दोस्रोपटक अर्थमन्त्री बनिरहँदा यसको सुधारको लागि के नयाँ योजना ल्याउनु भएको छ?
–अहिलेको अवस्थामा, एउटा मन्त्रीले बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभयो। अर्को मन्त्रीले बजेट प्रस्तुत गर्नुभयो र अझै अर्को मन्त्रीको रुपमा म अर्थमन्त्री भएर यसको कार्यान्वयन गर्ने जिम्मेवारी पाएको छु।
अहिले बजेटमा जुन राजश्वको लक्ष्य निर्धारण गरिएको छ यसलाई पुरा गर्न कडा मेहनतको आवश्यकता छ। यहाँ सबै प्रकारका त्रुटिहरु, कमि कमजोरीहरु छन् र त्यसलाई सच्चाउनुपर्ने छ।
विगतमा राजश्वको लक्ष्य पुरा हुन सकेन, गत वर्ष संशोधित लक्ष्य पनि पुरा हुन सकेन। यी हाम्रा विगतका अनुभव हुन् । आगामी दिनमा लक्ष्य पुरा गर्ने हिसाबले काम गर्नुपर्छ भन्ने लक्ष्य लिएको छु।
यस सन्दर्भमा केही विषयहरु जस्तै अन्तराष्ट्रिय परिस्थिति, क्षेत्रीय तथा रास्ट्रको परिस्थितिको प्रभाव छ। समग्र माग तथा उत्पादनमा न्युनतम छ। त्यसको प्रभाव रोजगार, उपभोगमा परेको छ। आयात निर्यात तथा उत्पादनमा पनि कमि आएको छ। यसमा ध्यान दिनुपर्ने छ। समग्र माग, रोजगारी, उत्पादन, उत्पादकत्व बढ्ने गरि कामहरु प्रभावकारी अगाडी बढाउनुपर्ने छ।
दोस्रोमा, हामीले विगतमा हाम्रा करका दरहरू पनि हेरफेर पनि गरेका छौँ। त्यसको प्रभाव राजश्व संकलनमा के कस्तो छ भनेर पनि अध्ययन अनुसन्धान गरि समिक्षा गर्छौ। करका दरहरू परिर्वतनको विषय धेरै परिपक्क भएर गर्नुपर्ने हुन्छ।
तेस्रोमा, राजश्व प्रशासनको प्रभावकारी परिचालन गर्दै राजश्व प्रशासनलाई अनुसाशीत बनाउँदै सबै प्रकारका लिकेज र सिकेजहरुलाई टाल्दै यो अवस्थामा गर्न सकिने अधिकतम राजश्व संकलन गर्ने योजना छ।
एकतर्फ राजश्व प्रशासनलाई अनुशासित बनाउने, लक्ष्य पुरा गर्न सक्नेगरी परिचालन गर्ने, चुहावटलाई नियन्त्रण गर्ने र अर्कोतर्फ व्यावसायीहरुलाई उत्पादन गरि मुनाफाबाट ट्याक्स तिरि सम्मानित नागरिक बनाउने विषयलाई समानान्तर लैजान खोजिरहेका छौँ।
४. राजश्व संकलनको सन्दर्भमा व्यवसायीहरु सरकारसँग त्रसित देखिएका छन् नि?
–अबको राजश्व प्रशासनले व्यावसायी मैत्री वातावरण तय गर्छ। व्यावसायीहरुलाई अनुचित हिसाबले तर्साउने, थर्काउने, धम्काउने, अनुचित ढंगले दुख दिने जस्ता कार्यहरु अब हाम्रो राजश्व प्रशासनले गर्दैन।
हरेक व्यावसायीलाई राम्रोसँग उत्पादन तथा व्यावसाय गरि मुनाफा कमाएर सरकारलाई कर तिर्नुस् र सम्मानित हुनुस् भनेर लाग्छौँ। यसरी राजश्व संकलन बढाउने र चुहावट रोक्ने हाम्रो योजना छ।
५.पछिल्ला वर्षहरुमा पुँजीगत खर्च भन्दापनि वित्तीय व्यवस्थापनको खर्च बजेट ठुलो आकारको बनाउनुपर्ने गम्भिर अवस्था देखिएको छ, यसलाई कसरी हेर्नुहुन्छ?
–वित्तिय व्यवस्थापन मूलतः सार्वजनिक ऋणसँगै सम्बन्धित रहेको छ। सार्वजनिक ऋणले सिर्जना गरेको दायित्व पुरा गर्ने सन्दर्भमा वित्तीय व्यवस्थापन मुलत त्यहाँ आधारित हुन्छ। वित्तीय व्यवस्थापन हामीले इग्नोर गर्न मिल्ने विषय नै हैन।
सार्वजनिक ऋण कति छ, त्यसको साँवा र ब्याज यो आर्थिक वर्षमा कति भुक्तानी गर्नुपर्छ त्यसलाई बजेटमा छुट्याउने हो। यसको अर्थ राजश्व परिचालनमा भएको न्यूनतालाई प्रभावकारी बनाएर लक्ष्य अनुरुप बनाउनुपर्यो ।
दोस्रोमा, अहिले मान्छेले नेपाल ऋणको पासोमा पर्यो भन्ने टिप्पणी हुन्छ। मलाई ऋणको पासोमा परिसक्यौँ जस्तो लाग्दैन। तर कुरा के हो भने हामीले लिएको ऋण उत्पादनमा केन्द्रीत गर्नुपर्छ।
अहिले नै ऋण हाम्रो काबुभन्दा बाहिरको अवस्थामा गइसकेको छैन। यद्यपी हामीले जस्तोसुकै, जहिले सुकै, जतिपनि ऋण लिने भन्ने चै हुन्न। हामीले राष्ट्रिय आवश्यकता अनुसार छनोट पुर्ण ऋण लिन्छौँ। यसले उत्पादन र उत्पादकत्व वृद्धि गर्छ। अझैपनि हामी सावधानिक पूर्वक नै ऋण लिनुपर्छ भन्ने नै छ।
प्रतिक्रिया