वि.सं. २०८२ असार ३, मंगलवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

'बिमा अनिवार्य हो'

“इन्स्योरेन्स धनी हुनका लागि हैन, गरिब हुनबाट बच्नका लागि हो”

भीमा पन्थी
२०८१ आश्विन ११, शुक्रबार

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सको व्यवसायिक प्रगति सन्तोषजनक रूपमा अघि बढिरहेको छ। आर्थिक वर्ष २०७९/८० भन्दा २०८०/८१ मा कम्पनीले झन्डै डेढ अर्ब बढी व्यापार गर्दै झन्डै २७ प्रतिशत बजार हिस्सा ओगटेको छ। बीमा एजेन्सीहरूलाई सक्रिय बनाउन सरेन्डर दर घटाउन कर्जा सुविधा, बोनस र इन्सेन्टिभ लगायत बिबिध कारणले नेपाल लाइफले आफ्नो व्यवसायमा प्रगति गरेको हो। सानो रकममा पनि बीमा गराउन सकिन्छ भन्ने सन्देश दिएर, कम्पनीले दीर्घकालीन आर्थिक सुरक्षाको महत्त्वलाई जोड दिँदै आएको छ। यसै बिषयमा केन्द्रित रहेर अर्थ लगानीका लागि भीमा पन्थीले नेपाल लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडका नेसनल सेल्स हेड उमापति पोखरेलसँग गरेको कुराकानीको सम्पादित अंश :

नेपाल लाइफको व्यावसाय कस्तो छ ?

–नेपाल लाइफको व्यवसाय समग्रमा निकै राम्रो हुँदै गइरहेको छ। conventional व्यापारतर्फ अघिल्लो आर्थिक वर्ष भन्दा आर्थिक वर्ष २०८०/८१ मा झन्डै डेढ अर्ब बढी व्यवसाय गर्न सफल भयौँ। अर्को तर्फ  आर्थिक वर्ष २०८०/८१ मा सम्पुर्ण जीवन बिमा कम्पनीले २८ अर्ब conventional व्यवसाय गर्दै गर्दा नेपाल लाइफले मात्र ७.४२ अर्ब बराबरको गर्न सकेको थियो। यसरी हेर्दा झण्डै २७ प्रतिशत बजार हिस्सा नेपाल लाइफले ओगटेको छ। साथै मार्केट हिस्सा अघिल्लो आर्थिक वर्ष २०७९/८० भन्दा गत आर्थिक वर्षमा ३ प्रतिशतले वृद्धि गर्न सफल भएका छौँ।

व्यवासायिक सफलताको यो रफ्तार चालु आर्थिक वर्षको गएको दुई महिनामा पनि निरन्तरता दिन सफल भएका छौँ। यसरी, समग्रमा भन्नुपर्दा नेपाल लाइफको व्यवसाय वृद्धि हुँदै गइरहेको छ।

आर्थिक सुस्तताकाबीच पनि लोभलाग्दो व्यावसायीक सफलता कसरी सम्भव भयो?

काम गर्ने भन्दा बढी गराउने जिम्मेवार हुनुपर्छ। म मेरो जिम्मेवारी पुरा गर्न कहिले पनि छोड्दीन। हामीले कमिलाको सिद्धान्तलाई अनुसरण गर्नुपर्छ। जस्तो कि, कमिला हिँडिरहेको ठाउँमा हामीले ढुंगा राखिदियौँ भने त्यो कमिला त्यहाँ बाट फर्किने वा रोकिने गर्दैन। या त त्यो दायाँबायाँबाट या त ढुंगा चढेर आफ्नो गन्तव्यतर्फ लाग्छ। हामी यहि सिद्धान्तलाई फलो गरेका हौँ।

यो सिद्धान्त र लक्ष्यलाई साकार पार्न के कस्ता रणनीतिहरू अपनाउनु भयो?

–यो पटक हामीले बीमा एजेन्सीहरूलाई सक्रिय बनायौँ। अघिल्लो वर्षभन्दा करिब ३ हजार बढी अभिकर्तालाई सक्रिय बनाएर २५ हजारबाट २८ हजार पुर्यायौँ। यद्यपी बीमा प्राधिकरण आफैले परिक्षा लिने लगायतका केही नीतिले भने केही समस्या भयो।

यसका लागि हामीले निष्क्रिय रहेका एजेन्सीहरु सक्रिय बनायौँ। साथै बाँकी अफिसका कर्मचारी तथा अभिकर्ताको मनोबल र उत्प्रेरणा बढाउन बोनस, इन्सेन्टीभ लगायतका कुराहरुमा पनि जोड दियौँ।

साथै, बिमितलाई विभिन्न समयमा विभिन्न किसिमका छुट तथा स्कीमको पनि व्यवस्था गर्याै। यो पटक माइक्रो इन्स्योरेन्समा पनि आँखा लगाउनुपर्छ भन्ने थियो, माइक्रो व्यावसाय पनि सुरु गर्याै र केही प्रतिशत मार्केट शेयर लिन सफल भयौँ।

सरेन्डर दरपनि घटाउनु भएको छ, यसको लागि के गर्नुभयो?

–पहिलो कुरा त सचेतना अर्थात शिक्षा प्रदान गर्नुपर्ने थियो त्यहि गर्याै। चाहे त्यो बिमा गराउन वा त्यसलाई निरन्तरता दिन । सरेन्डर गर्दा बिमितलाई हुने नोक्सानीको बारेमा बुझाउन सफल भयौँ। साथै, सरेन्डरको विकल्पमा कर्जा देखायौँ। सरेन्डर घटाउनुको लागि कर्जा सुबिधाले  राम्रो काम गर्‍याे, यसलाई पनि प्रमोट गर्याै।

कर्जामा प्रोत्साहन गर्दा एकतर्फ कम्पनी र विमितलाई फाइदा भयो भने अर्काेतर्फ त बिमितले ऋणको भारी बोक्नु पर्‍याे नि?

–बिमितले पोलिसी सरेन्डर निश्चित समयमा लिक्युडीटि  क्राईसेसको कारणले गर्न चाहेको हुन्छ। केही समयपछि उसको आर्थिक अवस्था सामान्य हुँदै जाँदा ऋण तिर्न सक्ने क्षमतावान बन्छ र तिर्छ वा ब्याज मात्रै तिर्दै जान्छ।

बिमा कम्पनीबाट लिएको ऋणको साँवाब्याज फिर्ता गरिहाल्नुपर्छ भन्ने पनि हुँदैन । कर्जा लिइरहेको अवस्थामा पनि जोखिम बहन भईरहेको हुन्छ, बोनस थपिईरहन्छ। जुन दिन कर्जा तिर्न सक्छ तिर्छ नसकेपनि पोलिसी परिपक्व हुँदाको दिन ऋणको रकम कटाएर बाँकी लैजान्छ।

बीमाका सुविधालाई  राम्रोसँग बुझ्ने हो भने तीन वर्ष कटिसकेपछि बिमितलाई धेरै फाइदा छ।

नेपाल लाइफ नेपालका १४ जीवन बिमा कम्पनीको बिचमा उत्कृष्ट हुनुमा कसको भुमिका छ?

प्रश्न एकदमै सान्दर्भिक गर्नुभयो यसको लागि धन्यवाद, कुनै पनि जीवन बिमा कम्पनीको मेरुदण्ड भनेको त्यस कम्पनीमा कार्यरत अभिकर्ताहरु नै हो। र ती अभिकर्तालाई काम गर्ने राम्रो वातावरण दिने भनेको व्यवस्थापन पक्षले नै हो।

हाम्रो कम्पनीमा अभिकर्ता व्यवस्थापन पक्ष र सम्पुर्ण कर्मचारीहरुको बिचमा निकै राम्रो सम्बन्ध छ।

समग्रमा अभिकर्ताहरुले कम्पनीको हित साथै आफ्नो व्यावसायीक हितको लािग काम गरि रहेका छन्। कम्पनी व्यवस्थापनले पनि समय सापेक्ष अभिकर्ता तथा बजारको मागलाई ध्यानमा राखेर नयाँ बिमा योजना ल्याउने तथा स्किमको व्यवस्था गरेकोले पनि यो कम्पनी स्थापना कालदेखि नै आफुलाई उत्कृष्ट बन्न सफल भएको हो।

बिमा गर्न त चाहान्छु तर पैसा छैन भन्ने वर्गलाई के भन्न चाहानुहुन्छ ?

–पहिलो कुरा हरेक व्यक्तिसँग पैसा हुन्छ नै, कसैसँग कम होला त कसैसँग बढी । सबैले बचत बीमा पोलिसी लिनुपर्छ भन्ने छैन। कम्पनीहरुसँग मुनाफामा सरिक नहुने (Term Life Insurance) पनि छन्, जुन डेढ दुई सयमा लाखको बिमा हुन्छ। यो सानो रकम हरेक नेपालीले तिर्न सक्ने पैसा नै हो।

तर, बिमा गर्नको लागि तयार हुन बिमाको बारेमा बुझ्नु पर्दछ। अधिकांशले पैसाको अभावले भन्दापनि ज्ञानको अभावका कारण बिमा गरेका हुँदैनन्।

पछिल्लो समय आर्थिक मन्दी देखिरहँदा, केही ठुला उद्योग व्यवसायलाई समस्या परेपनि साना पसल तथा व्यापार राम्रोसँग चलिरहेका छन्। यता गाउँतिर पनि प्रायको घरबाट एकजना वैदेशिक रोजगारमा गएका हुन्छन्। यस्तो परिवारहरूले सके इन्भेष्टमेन्ट पोलिसी नभएपनि टर्म पोलिसी लिएर बिमा गर्न सक्छन्। सानो रकमले पनि बिमा गर्न सकिन्छ।

कसैले बिमा गर्दैन भने त्यसको मुख्य कारण बिमाको ज्ञान तथा महत्व नबुझेको भन्न मिल्छ?

–यसरी बुझौँ, बीमाको महत्व बारेमा स्पष्ट बुझेको व्यक्तिले बिमा गर्छ नै गर्छ। कतिपयले बिमालाई फाइदाको लागि प्रयोग गर्न खोजेको र त्यसरी नै परिभाषित गर्ने गर्छन्, त्यो भनेको बिमाको सम्बन्धमा अर्ध ज्ञान हो।

बीमा बचत तथा लगानी भन्दापनि आर्थिक जोखिम कभर गर्नको लागि हो। धनी हुनका लागि हैन, गरिब हुनबाट बच्नका लागि गर्ने हो भन्ने कुरा बुझ्नुपर्दछ।

बीमा गरेको व्यक्तिले घातक रोगको सुविधा लिएर बिमा गरेको छ र त्यस्तो घातक रोगको उपचार गर्नु परे बिमा कम्पनीले बिमाङ्क रकम नै दिन्छ। आफ्नो खर्च बच्न जान्छ। यदि बिमा गरेको व्यक्तिलाई बिमा अवधिभर केही नभए आफै पाउँछ। आफ्नै गरिसकेपछि रोग लागे उपचार हुन्छ, नभए अन्ततः बोनस सहित फिर्ता हुन्छ। विमितको देहान्त भयो भनेपनि उसको परिवारले पाउँछ।

साथै, आजको दिनमा अधिकांश व्यक्तिले बच्चालाई पढाउन, बिरामी भए उपचार गर्न भनेर कमाइरहेका हुन्छन्। समग्रमा भन्दा आर्थिक हिसाबले सुरक्षित हुन कमाईरहन्छन र थुपारिरहन्छन्। यदि त्यो कमाईको केही अंश मात्रै बिमामा लगायो भने उनीहरुको उद्देश्य पुरा हुन्छ, भविष्य सुनिश्चित हुन्छ।

बीमा क्षेत्रमा एउटा भाष्य निर्माण भएको छ, ‘बिमा एजेन्टले बाच्नु भन्दा मर्नु बढी फाईदा देखायो’ यसलाई कसरी लिनुहुन्छ?

–फाइदा बाच्नुमा नै छ। आजको दिनमा औषतमा हजारमा २–३ जना मात्रै बिमितको मृत्यु भएको पाईन्छ।

नेपाली समाजमा परिवारको कुनै एक सदस्यलाई अलिक ठुलो रोग लाग्यो भने घरखेत बेचेर उपचार गर्नुपर्ने अवस्था छ। एक जनालाई लागेको रोगको कारण स-परिवार रोडमा पुग्छन्। राम्रो आम्दानी हुनेहरुको पनि जीवनभरको कमाई उपचारमा खर्च हुने गरेको देखिन्छ। त्यसो हुनुभन्दा कमाईको थोरै हिस्सा छुट्टाएर बिमा गर्नु धेरै उपयुक्त हो।

यदि कुनै घटना तथा दुर्घटना भइहाल्यो भने पनि उसको परिवारले पाउँछ, उसमा आश्रित परिवारलाई ठुलो राहत हुन्छ। उसको परिवारलाई आर्थिक समस्या नहोस भन्ने हो।

ठुलो रोग लागेन, दुर्घटना भएन भनेपनि बिमा गरेको पैसा कम्पनीले खाइदिने होइनन्, पोलिसी परिपक्व भएपछि बिमा गर्ने व्यक्तिले नै  बिमाङक र बोनस एकमुष्ट पाउँछ।

यदि परिवारका सबै सदस्यको बिमा हुन्थ्यो वा गर्ने हो भने भोली विदेश जाने युवाको संख्यामा विस्तारै कमि आउँछ। आज युवाले विदेश गई कमाएर पठाएको पैसाको अधिकांश हिस्सा परिवारका सदस्यको औषधि उपचार र बालबच्चाको पढाईमा खर्च हुन्छ। यदि औषतमा २० वर्षमा परिपक्व हुने पोलिसी खरिद गर्ने हो भने, बच्चाले त्यहि बिमाको पैसाले उच्च शिक्षा पढ्न पाउँछ। युवाले निश्चित समयपछि आफैले केही गर्छु भन्दा एकमुष्ट पैसा पाउँछ। वयस्कले आफुले काम गर्न नसक्ने उमेरमा बिमाको पैसाले आफ्नो जिवीको पार्जन गर्न सक्छ। बिचमा रोग व्यथा लागेमा उपचार हुन्छ। आर्थिक समस्या भए ऋण लिन पाउँछ। यसरी बिमा सहज आर्थिक वातावरणमा बाँच्नको लागि हो। मरेर फाईदा हुने भन्ने होईन, परिवारलाई राहत हुने हो।

इन्स्योरेन्स कम्पनीहरुले दाबी भुक्तानी दिन बिमितलाई अल्मल्याउने कारण पनि बिमाप्रति जनविश्वास कम भएको भनिन्छ नि ?

–जीवन बीमा कम्पनीहरुले दावि भुक्तानी ढिलासुस्ती गर्दै गर्दैनन्। सकेसम्म कसरी छिटो दिन सकिन्छ भनेर नै सर्तक भएको पाईन्छ। तर दावि कर्ताले समयमा मागेको कागजातहरु नदिने, दिएपनि अपुरो दिने कारणले गर्दा थोरै ढिलासुस्ती हुन जान्छ। नेपाल लाइफको सन्दर्भमा ९८ प्रतिशत दावि हामीले भुक्तानी गरिसकेका छौँ। हामीले कागजात पुरा भएको खण्डमा २४ घण्टा भित्रमा पनि दाबी भुक्तानी गर्छाै। कहिलेकाँही कुनै केसहरू शंकास्पद हुनसक्छन् त्यस्तोमा कही दिन लाग्छ।

दावि भुक्तानीमा समग्र जिवन बिमामा यस्तो समस्या म देख्दिन तर निर्जीव बिमामा यदाकदा ढिलासुस्ती भएको पाईन्छ।

सर्वसाधरणलाई लाइफ र नफलाइन इन्स्योरेन्समा अझै क्लियर बनाउँन बाँकी नै छ। लाइफ इन्स्योरेन्समा बिमित बाँचे बोनस र बिमाङ्क सहित पैसा दिने हो मृत्यु भएमा परिवारलाई दिने हो, यसमा दुईमत भएन।

ननलाइफमा पार्सियल अर्थात केही अंशको क्षतिलाई हेरेर दाबी भुक्तानी दिने प्रावधान हुन्छ। प्रायजसो गाडीकै कुरा गर्दा बढीको दाबी गरिएको हुन्छ, तर उसको क्षतिलाई परिपूर्ति गर्दा कम खर्च दिईने वा जाँचबुझ गर्न समय लाग्नेहुँदा बिमा कम्पनीले भुक्तानीमा ढिला गर्छन् वा अल्मल्याउँछन् भन्ने छाप परेको देखिन्छ।

पछिल्लो समय इन्स्योरेन्स फ्रडहरु देखिएका छन्, किन यस्तो हुन्छ?

–हाम्रोमा २० लाख सम्मको बिमा नन मेडिकल हुन्छ। बिमितलाई उसको स्वास्थ्य अवस्थाको बारेमा सोधिन्छ र उसको जवाफलाई आधार मानेर बिमा गराईन्छ। कहिलेकाँही बिमितले रोग लुकाएर बिमा गर्छन्।

कहिलेकाँही बिमाका सर्तहरु सबै पुरा हुन्छन् तर नियत खराब राखेको पाइयो त्यस्तोलाई हामीले अनुसन्धान गरेर दाबी रोकेको उदाहरण पनि थियो। बीमा दाबि पाउनुपर्नेले पाउनैपर्छ र जालसाजी गर्नेले पाउनु हुँदैन।

अन्त्यमा, के भन्न चाहनुहुन्छ?

बिमा अनिवार्य हो। यसलाई सरकारले नै अपनत्व लिएर अगाडी बढाउनुपर्छ । पहिलो कुरा त बिमा सानो रकमले पनि हुन्छ। गरिबको लागि  सरकारले व्यवस्था गरेर भएपनि बिमा अनिवार्य हुनुपर्छ।

प्रतिक्रिया

लेखकको बारेमा

भीमा पन्थी

पत्रकार पन्थी अर्थलगानी डटकममा रहेर आर्थिक विटमा पत्रकारितामा गर्छिन्। उनले विषेशगरि नीजि क्षेत्र, बैंक तथा वित्तीय क्षेत्र, बीमा, पुजीँ बजारका साथै विभिन्न आर्थिक क्षेत्रमा कलम चलाउने गर्छिन्।