नेपालमा पुँजीबजारको विकास १९९३ सालमा विराटनगर जुट मिलको स्थापना पश्चात् सुरु भएको हो। पुँजीबजार एक यस्तो स्थल हो जहाँ १ वर्षभन्दा बढी अवधिका वित्तीय साधनहरूको खरिद-बिक्रि हुन्छ। यसका प्रमुख उपकरणहरूमा शेयर, ऋणपत्र, बण्ड आदि पर्छन्। यो बजार जोखिमपूर्ण मानिन्छ तर लगानीकर्ताहरूको प्रतिफल भने उच्च हुने गर्छ। पुँजीबजार सामान्यतया कम तरल हुने हुँदा यसमा ठूला लगानीहरू गरिन्छ। यसको नियामक निकाय धितोपत्र बोर्ड (सेवोन) हो।
धितोपत्र बजारको स्थापना र नियमन
नेपालमा धितोपत्र बजारको विकास क्रममा विभिन्न चरणहरू देखिन्छन्:
- –वि.स. २०३३ मा धितोपत्र खरिद-विक्री केन्द्रको स्थापना भयो।
- –वि.स. २०५० जेष्ठ २५ मा धितोपत्र बोर्ड स्थापना भई यसको नियमन शुरू गरियो।
- –वि.स. २०५० पौष मा सेकेन्डरी बजारलाई संगठित गर्दै शेक्युरिटी खरिद-विक्री केन्द्रलाई नेपाल स्टक एक्सचेन्ज –लिमिटेड (नेप्से) मा रुपान्तरण गरियो।
धितोपत्र बोर्ड र पुँजीबजारका प्रमुख तत्वहरू
धितोपत्र बोर्डले वित्तीय प्रणालीको अभिन्न अंगका रूपमा विभिन्न संस्थाहरूको नियमन गर्छ, जसमा स्टक एक्सचेन्ज, सूचिकृत कम्पनीहरू, मर्चेन्ट बैंकर, सामूहिक लगानी योजना व्यवस्थापक, धितोपत्र दलाल, केन्द्रिय निक्षेप कम्पनी, शाखमूल्यांकन संस्था (जस्तै: इक्रा नेपाल लि.), आस्वा सदस्य र निक्षेप सदस्यहरू रहेका छन्।
नेपालमा प्रचलित पुँजीबजारका उपकरणहरू
नेपालमा पुँजीबजारका साधनका रूपमा साधारण शेयर, अग्राधिकार शेयर, सामूहिक लगानी योजना, सरकारी तथा संस्थागत ऋणपत्र आदि प्रचलनमा रहेका छन्। यसले गर्दा विभिन्न प्रकारका धितोपत्रहरूको कारोवार हुने हुँदा यसलाई धितोपत्र बजारको रूपमा पनि बुझ्न सकिन्छ।
धितोपत्र बजारमा योगदान पुर्याउने प्रमुख संस्था र लगानीकर्ता
धितोपत्र बजारको विकास र विस्तारमा विभिन्न संस्थाहरूले योगदान पुर्याइरहेका छन् जसमा नेप्से, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, सूचिकृत कम्पनीहरू, मर्चेन्ट बैंकर, धितोपत्र दलाल व्यवसायीहरू, योजना व्यवस्थापक, क्रेडिट रेटिंङ संस्था र धितोपत्र लगानीकर्ता सामेल छन्।
पुँजीबजारको अस्थिरता र नीतिगत असर
नेपालमा सरकारको परिवर्तन, नीतिगत उतारचढाव तथा राष्ट्रिय राजनीतिक घटनाहरूले पुँजीबजारमा प्रत्यक्ष प्रभाव पार्छन्। कुनै नेताको गिरफ्तारी, अनावश्यक सामाजिक मिडियाका अफवाहहरू आदिले गर्दा दोस्रो बजारमा अस्थिरता देखिन्छ भने यसले प्राथमिक बजारमा पनि असर पार्ने गरेको छ।
नेप्से इन्डेक्सको उतारचढाव
- –वि.स. २०६५ भाद्रमा नेप्से इन्डेक्स ११७५ बिन्दुमा पुगेको थियो।
- –वि.स. २०६८ असारमा नेप्से २९२ अंकमा झरेको थियो।
- –कोभिड-१९ पश्चात् नेप्से १८०० बिन्दुमा स्थिर रहेकोमा ब्याजदर घटेसँगै यो ३००० भन्दा माथि पुग्यो तर हाल नेप्से २७०० को आसपासमा मन्द गतिमा बजार वृद्धि तथा सामान्य करेक्सनको अवस्थाबाट गुज्रिरहेको छ।
हालको स्थिति र बजार पुँजीकरण
२०८१ भाद्र मसान्तसम्म बजार पुँजीकरण रु.२९६१ अर्ब ३४ करोड रहेको छ। शेयर बजारको गिरावटका बाबजुद पनि २०८१ भाद्र मसान्तसम्म रु.२.५८ अर्ब पुँजीगत लाभकर संकलन भएकोले यसलाई उत्साहजनक मान्न सकिन्छ।
सूचिकृत कम्पनीहरूको संख्या
२०८१ भदौ मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २६७ पुगेको छ, जसमा:
- –१२९ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी,
- –९१ जलविद्युत् कम्पनी,
- –२२ उत्पादन तथा प्रशोधन उद्योग,
- –७ होटल,
- –७ लगानी कम्पनी,
- –४ व्यापारिक संस्था र
- –७ अन्य समूहका कम्पनीहरू समावेश छन्।
नेपालको पुँजीबजारले नीतिगत सुधार, प्रविधि र नियमनको विकाससँगै अझै स्थिर र प्रगतिको दिशामा अघि बढ्ने अपेक्षा गरिएको छ।
पुँजीबजारको कार्यप्रगति
धितोपत्र व्यवसायको गुणात्मक र संख्यात्मक सुधारका लागि केही सुधारका कदमहरू कार्यान्वयनमा आइसकेका छन्। यसमा:
- –वि.स. २०६४ देखि काठमाण्डौ उपत्यकामा र वि.स. २०६६ देखि उपत्यका बाहिर दोस्रो बजारको सुरुआत भएको थियो।
- –दलाल व्यवसायी थप्ने व्यवस्था वि.स. २०६४ बाट सुरु गरियो। हाल नेप्सेका अनुसार ब्रोकरहरूको संख्या ९२ र स्टक डिलरको संख्या २ रहेको देखिन्छ।
- –नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २६७ पुगेको छ।
सूचीकृतबाट हटाइएका खारेज गरिएका र सूचीकृत नभएका कम्पनीहरूको सुविधालाई ध्यानमा राखेर वि.स. २०६५ जेष्ठ २२ मा ओटिसि इकाईको समेत सुरुआत गरिएको थियो जहाँ सर्वप्रथम नेपाल बैंक लिमिटेडको शेयर कारोबार भएको थियो। वि.स. २०६५ देखि सरकारी ऋणपत्रको दोस्रो कारोबार सुरु गरिएता पनि कारोबार भने शून्य अवस्थामा रहेको देखिन्छ। वि.स. २०६३ देखि सर्किट ब्रेकर प्रणालीको सुरुवात भएको थियो।
कारोबार राफसाफ अवधि ५ दिनबाट घटाएर ३ दिन भित्र गर्ने व्यवस्था कायम गरिएको छ, यद्यपि कतिपय दलाल व्यवसायीले शेयर विक्रीको रकम समयमा खातामा जम्मा भुक्तान नगरेको गुनासो वारम्वार आउने गरेको छ। भौतिक रूपमा रहेको धितोपत्रलाई अभौतिक गरी विद्युतिय अभिलेखलाई सहज बनाउन वि.स. २०६७ मा सिडिएससी क्लियरिंगको स्थापना गरियो।
सूचीकृत कम्पनी र त्यस्ता कम्पनीले निस्कासन गर्ने धितोपत्रको रेटिंग गर्न इक्रा नेपाल लिमिटेडको स्थापना गरिएको छ। यसले प्राथमिक निस्कासन, हकप्रद र ऋणपत्रको रेटिंग कार्य गर्दछ। बैंक तथा वित्तीय संस्थाको सहायक कम्पनीका रूपमा धितोपत्र सम्बन्धी कार्यको लागि वि.स. २०५० देखि मर्चेन्ट बैंकिङ सेवा समेत सुरु भई कार्यरत छ।
धितोपत्र सम्बन्धी कानुन निर्माण र संशोधनका कार्य पनि भइरहेको छ। धितोपत्र बजारलाई सम्पत्ति शुद्धिकरणको माध्यम नबनाउन वि.स. २०६९ मा धितोपत्र बोर्डले यससम्बन्धी निर्देशिका जारी गरेको थियो। पुँजीबजारमा विभिन्न आयोजनाहरू पनि सञ्चालनमा रहेका छन् जसमा:
- –संस्थागत तथा वित्तीय सुशासन परियोजना,
- –धितोपत्र तथ्यांक व्यवस्थापन,
- –पुँजीबजार र पूर्वाधार विकास आयोजना,
- –वि.स. २०७३ देखि लागू गरिएको आस्वा प्रणाली लगायतका दर्जनौँ व्यवस्थाहरू सामेल छन्।
यद्यपि यस्ता सुधारका प्रयासहरू गरिएका भए पनि हालसम्म नेपालमा कुल जनसंख्याको करिब १५ प्रतिशतलाई मात्र बजार सम्बन्धी ज्ञान रहेको देखिन्छ।
पुँजीबजारको चुनौतीहरू
पुँजीबजार वा धितोपत्र बजारमा रहेका चुनौतीहरूमा निम्न बुँदाहरू समावेश छन्:
- –संस्थागत सुशासन,
- –भरपर्दो नियमन,
- –पुँजी परिचालन,
- –धितोपत्र बजार सम्बन्धी साक्षरता,
- –कम्पनीको क्षमता मूल्यांकन,
- –शेयर मूल्यको निर्धारण,
- –विदेशमा रहेका नेपालीको प्रवेश,
- –शेयर बजार घटेको अवस्थामा पनि कमाउने प्रविधिको विकास,
- –सर्टसेलको प्रावधान,
- –शेयर बजारलाई दोहोरो बनाउने नीतिगत व्यवस्था,
- –धितोपत्र दलाल व्यवसायी मार्फत मार्जिन कारोबार सुविधा,
- –साना लगानीकर्ताको लगानी,
- –शेयर खरिद विक्रिको समयमा TMS नचल्ने समस्या,
- –नेप्से प्रणालीमा समस्या,
- –नयाँ प्रविधिको प्रयोग,
- –इन्साइडर ट्रेडिङ,
- –सीमित व्यक्तिले बजार नियन्त्रणमा लिने प्रवृत्ति,
- –लगानीकर्ताको गुनासो व्यवस्थापन,
- –बढ्दो डिम्याट खाताको व्यवस्थापन,
- –आन्तरिक सूचना चुहावट नियन्त्रण,
- –T+2 को परिपालना,
- –राजनीतिक अस्थिरता,
- –संस्थागत लगानीकर्ताको न्यून संलग्नता,
- –धितोपत्र मूल्य र बजार परिसूचकमा सामान्य राजनीतिक घटनाक्रमले हुने अप्रत्यासित उतारचढाव, जसले साना लगानीकर्तामा बढी समस्या सिर्जना गर्छ।
समस्या समाधानको उपाय
शेयर बजार सुधारका लागि तत्काल चालिनुपर्ने कदमहरूमा:
- –धितोपत्र औजारहरूको विविधिकरण,
- –डेरिभेटिभ बजार सञ्चालन,
- –सर्टसेलको व्यवस्था,
- –मार्जिन कारोबार,
- –दिनमै शेयर किनेर बेच्न सकिने सुविधा,
- –नेप्से सूचना प्रणालीको अडिट,
- –शेयर संरचनालाई फराकिलो बनाउनु,
- –बजार विकासका लागि रणनीतिक साझेदारीको अभ्यास,
- –ब्रोकरलाई प्राविधिक ज्ञान, जनशक्ति र पूर्वाधारमा सक्षम बनाउनु,
- –कर्नरिंग, पुलिंग, पम्पिंग, र डम्पिंगजस्ता पक्षहरूको निर्मूल,
- –डिलिस्टेड कम्पनीहरूलाई पनि बजार कारोबारमा ल्याउने जसलाई ओटिसि भनिन्छ।
त्यस्तै:
- –सूचीकृत कम्पनीको अद्यावधिक विवरण राख्ने,
- –शेयर सचेतना कार्यक्रमलाई देशव्यापी बनाउने,
- –सेबोनलाई सक्षम बनाउने,
- –लगानीकर्ता निरुत्साहित हुने गरी सरकारले नीति नल्याउनु,
- –लगानीकर्ताको मनोविज्ञानलाई सकारात्मक बनाउन १५ करोडको क्याप तत्काल हटाउनु,
- –नयाँ TMS लाई पूर्ण रूपमा सञ्चालन गर्नु, जसबाट ग्राहकले आफ्नो सम्पूर्ण विवरणहरूको पहिचान गर्न सकून्।
पुँजीबजारमा रहेका जटिलताहरूलाई सुधार गर्दै लगानीकर्ताको विश्वास बढाउने, अन्तर्राष्ट्रिय स्टक एक्सचेन्जहरूको अध्ययन गरेर सफल अभ्यासतर्फ ध्यान दिने, राम्रो कार्यसम्पादन भएका कम्पनीहरूलाई प्रिमियम शेयर निस्कासनको अनुमति दिने, र IPO निस्कासन गर्दाको लागत घटाउन आवश्यक देखिन्छ।
लगानीकर्ता कसरी सुरक्षित हुने ?
शेयर बजारमा लगानी गर्ने अधिकांश लगानीकर्ता सधैं अन्योल र हल्लाकै भरमा शेयर वा धितोपत्रमा ऋण, सापटी वा अन्य स्रोतबाट रकमको जोहो गरी पैसा खन्याइरहेका हुन्छन् र शेयर किन बढ्छ र किन घट्छ भन्नेबारेमा लगानीकर्ता र अन्य जो कोही सर्वसाधारणलाई पनि जानकारी हुन जरुरी छ। शेयर बजारबाट सुरक्षित आफैं बन्ने हो अरूले बनाउने होइन। नेपालको परिवेशमा कुल शेयर डिम्याटमा हाल करिब ४३ प्रतिशत महिला सहभागी छन्। धेरैले बताउने गर्छन्, “हामी हालसम्म सुरक्षित र ब्रेकइभनमा छौं।” विशेष गरी शेयरको उतारचढावलाई प्रभाव पार्ने प्रमुख तत्वमा मुलुकको आर्थिक अवस्था पर्छ।
जस्तै, हाल नेपालमा आर्थिक संकटका कारण हरेक मानिसको व्याययोग्य आयमा कमी आइरहेको हुँदा यस्तो अवस्थामा लगानी गर्ने रकम अभाव हुन जान्छ अनि शेयरको मूल्य घट्ने गर्दछ। यदि अर्थतन्त्र सुदृढ भए रोजगारिका अवसरहरू पनि हुन्छन्, जसका कारण जनसाधारण वा लगानीकर्तामा व्याययोग्य आयको वृद्धि भई शेयर बजारमा लगानी आकर्षित हुने गर्दछ।
दोस्रोमा, अन्तर्राष्ट्रिय परिस्थिती जस्तै विश्वव्यापी शीतयुद्ध, युद्ध र विनिमयदरमा हुने उतारचढावले पनि शेयर बजारमा कारोबार हुने धितोपत्रहरूको शेयर मूल्यमा असर गर्दछ। तेस्रोमा, राजनीतिक स्थिरताको अभाव जहाँ आन्दोलन, हडताल र सरकार परिवर्तनपछि हुने नीतिगत परिवर्तनले असर गर्दछ। चौथो, रेगुलेटरी बडी वा अनुगमनकारी निकायले गर्ने नीतिगत परिवर्तन जस्तै धितोपत्र बजार सम्बन्धी नियमकानुनमा हेरफेर, करका दरहरू परिवर्तन आदि। पाँचौमा, शेयर बजारमा सूचीकृत कम्पनीको वित्तीय अवस्था र छैठौं, तरलता समस्या। जस्तै हाल तरलता बढी भएको हुँदा ब्याजदर पनि घटेको छ, जसले शेयर कर्जाको पनि ऋण सस्तोमा प्रदान गर्न मद्दत पुर्याउँछ, फलस्वरुप लगानीकर्ता धितोपत्र बजारतर्फ बढी आकर्षित हुने गर्दछन्।
अन्यमा, विदेशी लगानी, शेयर बजारमा तत्कालिन अवस्था, ब्याजदर, प्राकृतिक प्रकोप जस्ता घटनाले पनि शेयर बजारलाई उतारचढावको अवस्थामा पुर्याउने गर्दछ। तसर्थ, लगानीकर्ताले कुनै पनि कम्पनीको धितोपत्रमा लगानी गर्नु अघि उपरोक्त कुराहरूमा सूक्ष्म अध्ययन गर्नु जरुरी छ। धितोपत्र बोर्ड, नेप्से लगायत बजार सञ्चालन गर्ने पक्षहरूले समेत यस सम्बन्धि व्यापक जनचेतना गाउँ गाउँसम्म पुर्याउन जरुरी देखिन्छ।
बैङ्कबाट शेयर लोन कसरी पाइन्छ भन्ने सम्बन्धि जानकारी दिन बैङ्क तथा पुँजीबजारको दायित्व हो भन्ने कुरा पनि ध्यानमा राख्नुपर्छ। पछिल्लो समय शेयर कर्जा निरन्तर बढेको छ। नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार २०८१ भदौ मसान्तसम्म बैङ्कहरूबाट ९९ अर्ब ७६ करोड ५६ लाख शेयर धितो कर्जा गएको देखिन्छ।
मुख्य गरी लगानीकर्ताले बुझ्नुपर्ने कुरामा स्टक मार्केटको सिद्धान्त र प्राविधिक विश्लेषण हो। यो सबैले गर्न सक्ने कुरा होइन। पहिलो, कम्पनीको वित्तीय अवस्था हो भने दोस्रो, विगतको शेयर मूल्यमा भएको उतारचढावसँग सम्बन्धित रहेर मूल्य प्रक्षेपण गर्नु हो। तर, यो मात्रै बुझेको आधारमा नेपालको शेयर बजारमा कारोबार गर्न सकिन्छ पनि कहाँ र फेरि यहाँ त ठूला र सचेत लगानीकर्ताले बजारको सूचना पहिले नै थाहा पाउने सम्भावना प्रबल रहेको हुँदा साना लगानीकर्ता जहिले पनि मारमा पर्ने गर्दछन्।
बजार हल्ला र सामाजिक सञ्जाल तथा अनधिकृत विज्ञको पछि नलागी विवेकको भरमा लगानी गर्दा नेप्सेबाट डराउनु पर्दैन। तसर्थ, यी सबै कुरालाई ध्यानमा राखेर लगानी गर्नु पर्ने हुन्छ। नियमनकारी निकायको पहिलो कर्तव्य भनेको साना लगानीकर्तालाई बचाउनु र बजारमा आउने विकृतिलाई समयमै रोक्नु हुनु पर्दछ भन्नेमा कसैको विमति नरहला।
लेखक डा. वशिष्ठ बैंक तथा वित्तिय संस्था सम्बन्धि जानकार हुन्।
प्रतिक्रिया