वि.सं. २०८२ असार १७, मंगलवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शेयर बजार

नेपालको शेयर बजार: समस्या, प्रभाव र समाधानका उपाय

शेयर बजार केवल लगानीकर्ताहरूको मुनाफाको माध्यम मात्र होइन

डा. दिबाकर वशिष्ठ
२०८१ पुष १६, मंगलवार

पुँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरमा अर्थतन्त्रको ऐना मानिन्छ र यसको विकासमा सरोकारवाला निकाय अहोरात्र खटिरहेको देखिन्छ। किनभने पुँजी बजार विकासको एउटा महत्त्वपूर्ण साधन हो। शेयर बजार पुँजी बजारको अभिन्न अंग हो। शेयर भनेको लगानीको हिस्सा वा हिस्सेदार बन्नु हो।

नेपालमा शेयर बजारको व्यवस्थापन सही रूपमा नभएका कारण र दण्डहीनताको प्रभावले अर्थतन्त्र सकारात्मक हुँदा पनि शेयर बजार घट्ने र नकारात्मक हुँदा बढ्ने गरेको थुप्रै उदाहरण छन्। मुख्यतः उत्पादनमूलक क्षेत्रमा शेयर बजारको योगदान कमजोर भएकोले यसले समग्र अर्थतन्त्रको सही प्रतिनिधित्व गर्न सकेको देखिँदैन। प्रत्येक कम्पनी सार्वजनिक हुने प्रक्रियामा जानु आवश्यक देखिन्छ। सार्वजनिक बनेकै कारण भारतलगायत विभिन्न देशका व्यावसायिक कम्पनीहरूले प्रगति गरेका छन्।

दीर्घकालीन अवधिका लागि (१ वर्षभन्दा लामो) लेनदेन गरिने बजारलाई पुँजी बजार वा शेयर बजार भनिन्छ। यो दुई प्रकारको हुन्छ:

  1. १.प्राथमिक बजार : कम्पनी वा संस्थाबाट पहिलो पटक निस्कासित शेयर, ऋणपत्र आदि पर्दछन्।
  2. २.द्वितीय बजार : प्राथमिक बजारबाट जारी भइसकेका शेयरहरूको किनबेच हुने बजार हो।

नेपालमा द्वितीय बजारको कारोबार वि.सं. २०५० माघदेखि सुरु भएको हो। हाल नेपालमा धितोपत्र बोर्डमा सूचीबद्ध कम्पनीहरूको संख्या ३०० भन्दा बढी छ। दीर्घकालीन लगानी गर्ने वित्तीय संस्थाहरू, औद्योगिक लगानीका लागि शेयर पूँजी परिचालन गर्ने धितोपत्र बजार, र ऋणपत्र बजार समेत यस परिभाषाभित्र पर्दछन्।

वित्तीय साधनजस्तै ऋणपत्र, शेयर, राष्ट्रिय बचतपत्र, सबै वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनी, सरकार, र व्यवसायिक गृहहरू मुद्रा तथा पुँजी बजारका अभिन्न अंग हुन्। वाणिज्य बैंकहरूले अल्पकालीन लगानीका अतिरिक्त दीर्घकालीन लगानी ऋण तथा शेयर सहभागिता गर्न सक्छन्।

त्यस्तै, दीर्घकालीन पुँजी प्रवाहका लागि स्थापना भएका विकास बैंकहरूले छोटो अवधिका सरकारी ऋणपत्रमा लगानी गर्न सक्छन्। संस्थागतभन्दा उपकरणगत प्रकृतिको आधारमा:

  • मुद्रा बजारमा अल्पकालीन निक्षेप, ट्रेजरी बिल, अल्पकालीन व्यवसायिक कर्जा, ओभरड्राफ्ट, टीटी आदिको उपयोग गरिन्छ।
  • पुँजी बजारमा दीर्घकालीन निक्षेप, स्थिर पुँजीका लागि कर्जा, शेयर, लामो अवधिका सरकारी ऋणपत्रहरू, तथा लामो अवधिका ऋणजस्ता उपकरणको प्रयोग गरिन्छ।

यसरी, पुँजी बजारले अर्थतन्त्रको दिगो विकासमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।

पुँजी बजारलाई अर्थतन्त्रको ऐना भनिन्छ, किनभने यसले बचत परिचालन, दीर्घकालीन लगानी प्रवर्द्धन, लगानीको गुणस्तर वृद्धि, तरलता व्यवस्थापन, र बचतको सदुपयोग गर्दै देशको उद्योग तथा वाणिज्य क्षेत्रको विकास गर्दछ। नेपालमा पुँजी बजार भन्नासाथ शेयर बजारको वाहुल्यता देखिन्छ, जहाँ विभिन्न संघ–संस्थाका शेयरहरूको खरिदबिक्री गरिन्छ।

तर, नेपालको शेयर बजार व्यवस्थित र भरपर्दो बनाउनका लागि विभिन्न नियमकानुन बनेका छन् र अनुगमनकारी निकायको रूपमा धितोपत्र बोर्ड रहेको भए पनि कानुनको प्रभावकारी कार्यान्वयन र धितोपत्र बोर्डको अनुगमन प्रयाप्त छैन।

शेयर बजार सम्बन्धी जनचेतनाको अवस्था निकै न्यून छ। कुल जनसंख्याको करिब २० प्रतिशतलाई मात्र शेयर, यसको किनबेच, र महत्वबारे जानकारी छ भन्ने अनुमान गर्न सकिन्छ। डिम्याट खाता, धितोपत्र दलाल, र आस्वा जस्ता प्रणालीहरूको पर्याप्त जानकारीबिना शेयर कारोबार असम्भव छ। यद्यपि, सूचना प्रविधिको विकासका कारण हाल देशका अधिकांश ठाउँबाट अनलाइनमार्फत शेयर किनबेच गर्न सकिने अवस्था छ।

हाल नेपालको शेयर बजारमा करिब ६० लाख व्यक्ति वा संस्था आबद्ध छन्। तर, धेरैजसो लगानीकर्ताहरूलाई शेयरको मूल्य निर्धारण, वित्तीय अवस्था, शेयर किनबेचको सही समय, मूल्य घटबढका कारण, र यसको अर्थतन्त्रमा पर्ने प्रभावबारे स्पष्ट ज्ञान छैन। यो ज्ञान अभावकै कारण शेयरबाट उचित प्रतिफल लिन कठिन छ, र देशमा पुँजी परिचालन प्रभावकारी हुन सक्दैन।

अहिले अधिकांश कम्पनीहरूको शेयर न्यूनतम मूल्यमा झरेको भए पनि ती कम्पनीहरूको नाफा भने राम्रो छ। तर, आर्थिक मन्दीका कारण धेरै कम्पनीहरूको नाफामा गिरावट देखिएको छ। यसबीच, केही कम्पनीको नाफा राम्रो हुँदा पनि शेयरको मूल्य नबढ्ने, र कमजोर अवस्थामा पुगेका कम्पनीहरूको शेयर मूल्य एकाएक बढ्ने स्थिति अनुत्तरित छ। यसबारे सरोकारवाला निकायहरू अझै बेखबरजस्तो देखिन्छन्।

नेपालमा शेयर बजारको विश्लेषण गर्न सक्ने योग्य विज्ञहरूको कमी छ, र जनस्तरमा समेत यसबारे पर्याप्त ज्ञान छैन। यस विषयमा अनुसन्धान र सचेतनाको खाँचो छ।

हामी शेयर किनबेच गर्दा प्रायः कम्पनीको वित्तीय अवस्था, वासलात, र नाफा–नोक्सानको समीक्षा नगरी हल्लाको भरमा कारोबार गर्ने प्रवृत्ति देखिन्छ। हाल नेपालको शेयर बजार केही सीमित व्यक्तिहरूले चलाएको जस्तो देखिन्छ। इन्साइडर ट्रेडिङ, कृत्रिम अभाव सिर्जना, अवैध चलखेल, र कार्टेलिङका कारण शेयर बजार स्थिर हुन सकेको छैन।

कम्पनीहरूको नेट वर्थ, नेटवर्क, र नाफा बढ्दै गएको र कम्पनीहरू पनि सुदृढ भएको तथ्यले शेयरको कारोबार र मूल्य वृद्धि पुष्टि कहिले हुने?

पुँजी बजारले आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउन मुख्य भूमिका खेल्दछ। त्यसैले, सम्बन्धित निकायले यसतर्फ बेलैमा ध्यान दिनु अति आवश्यक छ। शेयर बजारको स्थायित्व, पारदर्शिता, र विश्वसनीयता बढाउन ठोस उपायहरू अवलम्बन गर्न जरुरी छ।

शेयर बजारमा देखिएका समस्याहरूलाई समग्र आर्थिक संरचनाको हिस्सा मान्नुपर्छ। यी समस्याहरूको समाधान बिना शेयर बजारलाई आर्थिक विकासको एउटा स्तम्भका रूपमा स्थापित गर्न सकिँदैन। शेयर बजार सकुंचनको कारणहरू, प्रभाव, र समाधानका उपायहरूप्रति गहन विश्लेषण आवश्यक छ।

शेयर बजार सकुंचनका मुख्य कारणहरू:

  1. १ .आर्थिक मन्दी: सूचीकृत कम्पनीहरूको शेयर मूल्यमा गिरावट, घरजग्गा बजारमा मन्दी र बैंक तथा वित्तीय संस्थाहरूले शेयर किन्न दिने ऋणमा नीतिगत हिचकिचाहट।
  2. २.ब्याजदर अस्थिरता: बैंक निक्षेपमा ब्याजदर उतारचढावले लगानीकर्ताहरूलाई अन्यत्र जाने वातावरण सिर्जना।
  3. ३.जनमानसमा नकारात्मक धारणा: बैंक, लघुवित्त र सहकारी क्षेत्रमा विश्वास कमी तथा बीमा कम्पनीहरूको आम्दानी घट्नु।
  4. ४.लगानीयोग्य वातावरणको अभाव: ग्रामीण क्षेत्रमा लगानी आकर्षणको कमी, दीर्घकालीन कर्जाको न्यून प्रवाह र बैंकहरूको सीमित क्रियाकलाप।
  5. ५.इन्साइडर ट्रेडिङ र कृत्रिम अभाव: शेयर बजारमा कृत्रिम मूल्य वृद्धिका प्रयास र कार्टेलिङ।
  6. ६.प्रविधि र प्रणालीगत समस्याहरू: सीमित शेयर र ऋणपत्र विकल्प, पब्लिक लिमिटेड कम्पनीको अभाव र वित्तीय जानकारीको अपारदर्शिता।
  7. ७.नीतिगत अस्थिरता: सरकार र नियमनकारी निकायहरूबीच समन्वयको अभाव, प्रभावकारी अनुगमनको कमी र राजनीतिक हस्तक्षेप।

समस्या समाधानका उपायहरू:

  1. १.नीतिगत स्थिरता र सुधार
    • बैंक तथा वित्तीय संस्थाहरूलाई दीर्घकालीन कर्जाको प्रोत्साहन।
    • ऋण र निक्षेपमा स्थिर ब्याजदरको व्यवस्था।
    • शेयर बजारसँग सम्बन्धित नीतिहरूको प्रभावमाथि गहन अनुसन्धान।
  2. २.शेयर बजारमा पारदर्शिता वृद्धि
    • सूचीकृत कम्पनीहरूको वित्तीय विवरण समयमै प्रकाशन।
    • अनियमितता रोक्न इन्साइडर ट्रेडिङमा कडाइ।
    • कृत्रिम अभाव र मूल्य वृद्धि नियन्त्रणका लागि प्रभावकारी अनुगमन।
  3. ३.जनचेतना र शिक्षा अभियान
    • लगानीकर्ताहरूलाई वित्तीय साक्षरता तालिम।
    • ग्रामीण क्षेत्र र मध्यमवर्गीय लगानीकर्तालाई शेयर बजारप्रति आकर्षित गर्न कार्यक्रम।
  4. ४.स्रोत परिचालन र विविधीकरण
    • निजी क्षेत्रलाई ऋणपत्र जारी गर्न उत्प्रेरित।
    • ग्रामीण क्षेत्रमा शेयर कारोबार विस्तार गर्न।
  5. ५.नियमक निकायहरूको सुदृढीकरण
    • धितोपत्र बोर्ड र अन्य नियमनकारी निकायलाई सशक्त बनाउँदै पारदर्शिता वृद्धि।
    • शेयर बजारमा राजनीतिक हस्तक्षेप रोक्न कडा कदम।
  6. ६.आधुनिक प्रविधिको प्रयोग
    • डिजिटल ट्रेडिङ प्रणालीको थप सुधार।
    • अनलाइन प्लेटफर्ममार्फत सहज पहुँच वृद्धि।

अन्त: शेयर बजार केवल लगानीकर्ताहरूको मुनाफाको माध्यम मात्र होइन, यो मुलुकको समग्र आर्थिक स्वास्थ्यको ऐना हो। यसलाई सुधार गर्न नीतिगत स्थिरता, जनचेतना, प्रविधिको उच्चतम प्रयोग, र प्रभावकारी अनुगमन आवश्यक छ।

सरकार, नियमनकारी निकायहरू, र निजी क्षेत्र मिलेर यस क्षेत्रमा सुधार ल्याउने कदम उठाए मात्र देशको अर्थतन्त्रलाई गतिशील बनाउन शेयर बजारले निर्णायक भूमिका खेल्न सक्नेछ। शेयर बजारको सुदृढीकरण नै दीर्घकालीन आर्थिक विकासको आधार हो।

 

प्रतिक्रिया

लेखकको बारेमा

डा. दिबाकर वशिष्ठ

डा. वशिष्ठ बैंकिङ क्षेत्रका जानकार हुन् ।