वि.सं. २०८२ जेष्ठ ३१, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

निष्कृय कर्जा व्यवस्थापनका उपायहरु, ब्याड बैंकको सान्दर्भिकता बढेकै हो ?

डा. दिबाकर वशिष्ठ
२०८१ पुष २६, शुक्रबार

निष्क्रिय कर्जा भनेको के हो ?

राष्ट्र बैकको बैक तथा वित्तीय संस्थालाई जारी भएको एकीकृत निर्देशन नं २ ले कर्जाको वर्गीकरण गरेको छ । उक्त व्यवस्था अनुसार असलमा भाखा ननाघेका र ३ महिनासम्म भाखा नाघेका कर्जा÷सापट । सूक्ष्म निगरानीमा असल वर्गमा परेका तर साँवा वा ब्याज तोकिएको अवधिभित्र भुक्तान नभई १ महिना भन्दा बढी अवधिले बक्यौता रहेका कर्जा÷सापट । कमसलमा ३ महिनादेखि बढीमा ६ महिनासम्म भाखा नाघेका कर्जा÷सापट । शङ्कास्पदमा ६ महिनादेखि बढीमा १ वर्षसम्म भाखा नाघेका कर्जा÷सापट र खराबमा १ वर्षभन्दा बढी अवधिले भाखा नाघेका कर्जा÷सापट । असल र सूक्ष्म निगरानी मा रहेका कर्जालाई “सक्रिय कर्जा” र पुनर्तालिकीकरण÷पुनर्संरचना गरेका, कमसल, शङ्कास्पद तथा खराब कर्जालाई “निष्क्रिय कर्जा” भनी परिभाषा गरिएको छ । उपरोक्त व्यवस्थाको अलावा सुरक्षण अपर्याप्त भएमा, ऋणी टाट पल्टेको घोषणा भएमा, ऋणी हराएमा वा गायब भएमा, कर्जा दुरुपयोग भएमा, परियोजना सञ्चालन नभएका अवस्थाका कर्जालाई समेत निष्क्रिय कर्जाको रूपमा परिणत गर्ने व्यवस्था रहेको छ ।

के हो ब्याड बैङ्क ?

कुनै पनि बैङ्क तथा वित्तीय संस्थाले लगानी गरेको कर्जा निष्क्रिय हुन सक्छ । त्यसको व्यवस्थापनको लागी स्थापना गरिने कम्पनी नै संपक्ति व्यवस्थापन कम्पनी वा ब्याड बैङ्क हो । यसले वैंकिग क्षेत्रको खराब कर्जा खरिद गर्दछ र यसमा धितो राखिएको लगायत संपक्ति बेचेर असुल उपर गर्दछ । यो पनि एक प्रकारको इजाजत प्राप्त वित्तीय संस्थानै हो जसले खराब कर्जाको निर्धारित मूल्य तिरेर आफ्नो स्वामित्वमा लिन्छ र यसको सुधार वा पुन संरचना गरि बढी मूल्यमा बेचबिखन गरी कर्जा असुल गर्दछ । यो बैङ्कले वैंकिग क्षेत्रको ब्याड कुरालाई सफा गर्ने हुँदा ब्याड बैङ्क भनिएको हो ।

निष्क्रिय कर्जाको अवस्था

आर्थिक मन्दीको बाहानमा ऋणीले ऋण तिर्न ढिलाइ गर्दा वा नतिर्दा बैंकर माथि समेत तनाव बढ्दै गएको छ । एकथरि समूहले ऋण तिर्नु पर्दैन मिनाहा हुन्छ भन्ने अफवाह फैलाउँदा समग्र बैङ्किङ क्षेत्रमा ठुलो असर परेको छ । बैङ्किङ क्षेत्रको संपक्ति केही बढेको भएता पनि यसको गुणस्तर खस्किँदै गएको छ एकातर्फ भने अर्को तर्फ कालो सूचिमा पर्नेको सङ्ख्या दिनहुँ थपिँदै गएको छ । कर्जाको भाखा नाघ्ने क्रम सँगै कालो सूचीमा सूचीकृत ऋणीहरूको सङ्ख्या पनि करिब ९४ हजार ४ सय ७७ रहेको छ ।

आश्विन मसान्त २०८१ सम्म आइपुग्दा कुल कारोबारको ८० प्रतिशत हिस्सा लिएको वाणिज्य बैंकहरुकोे निष्क्रिय कर्जा औसतमा ४ प्रतिशत भन्दा बढी देखिन्छ । केही वाणिज्य बैङ्कको ५ प्रतिशतभन्दा बढी निष्क्रिय छ । अन्तर्राष्ट्रिय नियम अनुसार पनि ५ प्रतिशत भन्दा बढी निष्क्रिय कर्जा हुनु लाई राम्रो मानिँदैन ।

यस्तो कर्जा लघुवित्त तर्फ करिब ८ प्रतिशत भन्दा बढी देखिन्छ भने वित्त कम्पनी र विकास बैंककोे पनि दिन प्रतिदिन बढिरहेको अवस्था छ । सङ्कटग्रस्त कर्णाली विकास बैङ्कको ४० प्रतिशतको हाराहारीमा निष्क्रिय कर्जा देखिएको छ । गैर बैंंकिङ संपत्तिपनि बढेर करिब ३७ अर्ब नाघ्नु र यसको उचित व्यवस्थापन हुन नसक्नुले बैंकिग क्षेत्रलाई कठिन अवस्थामा पुर्‍याएको देखिन्छ । अव कर्जा असुली गर्ने कि गैर बैङ्किङ संपत्तिको रूपमा रहेको अथवा बैङ्क आफैले सकार गरेको घरजग्गा व्यवस्थापनमा समय खर्चिने ? गैर बैंकिङ्ग संपक्तिलाई पनि निष्क्रिय कर्जाकै रूपमा लिने गरिन्छ । किनकि यो असुल हुन नसकेको संपक्ति हो । कुनै पनि ऋणीले बैङ्क तथा वित्तीय संस्थामा भुक्तानी गर्नु पर्ने कर्जाको सावां व्याज चुक्ता नगर्दा कर्मचारीमा समेत मानसिक तनाव बढ्दै गएको छ भने व्यावसायिक जगमा नगद प्रवाहको कमीले नाफामा दबाब सिर्जना भएको छ । हाल बैङ्क तथा वित्तीय संस्थाको निष्क्रिय कर्जाको ग्राफ उकालो लाग्ने क्रम बढी रहेको छ । चालु आर्थिक वर्ष २०८०।०८१ को पहिलो त्रैमाससम्म आइपुग्दा रु ५२ खर्व ८७ अर्ब ९७ करोड कर्जा लगानी भएकोमा औसत ४.४२ प्रतिशत निष्क्रिय कर्जा रहेको छ ।

निष्क्रिय कर्जा असुलीका चुनौतीहरू

अनुगमनकारी निकायबाट जारी निर्देशनको पालना, नियमित अनुगमन र सुपरिवेक्षण, वासलात मा एकरूपता, सुशासन, नियम तथा कानुनहरूको अक्षरशः पालना, ऋणीसँगको मैत्रीपूर्ण व्यवहार र आपसी समझदारी एवं सम्झौताबाट मात्र निष्क्रिय कर्जा व्यवस्थापन चुनौतीको चाङ्लाई कम गर्न सकिन्छ । ऋण लगानी गरेको दिनबाट नै असुली प्रक्रिया आरम्भ हुन्छ । नियमित सुपरिवेक्षण र निरीक्षण कार्य नियमित हुने हो भने खराब कर्जाको मात्रा न्यून हुन्छ तथापि वित्तीय सङ्कटले बैङ्किङ क्षेत्रको कर्जा असुलीमा समस्या परेको भएता पनि बैङ्क तथा वित्तीय संस्थाहरूले आफैले बनाएका कर्जा नीतिहरूका सामान्य सिद्धान्तको पालना नगर्ने, कर्जाको व्यवस्थापन उचित ढङ्गबाट नगर्ने, निक्षेप कर्ताको सुरक्षालाई ध्यानमा राखेर कर्जा लगानी नगर्ने, व्यवसायको कुशल विश्लेषण नगर्ने, कानुन सम्मत लगानी नगर्ने, ऋणीको वास्तविक आवश्यकताको पहिचान नगरी कर्जा दिने परिपाटीमा सुधार नहुँदा निष्क्रिय कर्जामा वृद्धि भई रहेको छ । सुशासन र वित्तीय साक्षरता समेतमा अपेक्षित सुधार नभए बैङ्कबाट लिइएको ऋण सापटी तोकिएको समय भित्र बुझाउनु पर्दछ भन्ने सम्बन्धमा कतिपय ऋणीहरूमा अझै पनि अज्ञानता एकातर्फ देखिएको छ भने अर्को तर्फ दण्डहीनता, पद, शक्तिको दुरुपयोग, साना ऋणीले लिएको ऋण सरकारले मिनाहा गरिदिन्छ तिर्नु पर्दैन भन्ने मनोभावना एवं केही स्वार्थी तत्त्वद्वारा फैलाइएको अफवाह आदिको कारण बैङ्कबाट लिएको ऋण तिर्नमा आनाकानी र अटेर गर्ने पद्धतिको विकास भएको छ । वैैंकिग क्षेत्रका प्रवर्धकलाई नै ठुलो मात्रामा गरिएको लगानी र पछिल्ला वर्षहरूमा अनुत्पादक क्षेत्रमा कर्जा विस्तार भएबाट पनि निष्कृय कर्जा बढ्ने गरेको देखिन्छ ।

निष्क्रिय कर्जा व्यवस्थापन कसरी गर्ने ?

सकेसम्म कर्जालाई निष्क्रिय हुनै नदिनु राम्रो यदि निष्क्रिय भई हाल्यो अर्थात् कर्जाको भाखा नाघी हाल्यो भने पनि अन्तर्राष्ट्रिय प्राक्टिस अनुसार ऋणीलाई नियमित भेटघाट, अनुगमन, फोन, इमेल, छलफल गरी समयमा ऋण तिर्ने वातावरणको सिर्जना गर्ने, ऋण भुक्तानी तालिकालाई पर सार्ने अथवा ऋण तिर्ने अवधि बढाउने वा पुनर्तालिकीकरण गर्ने, कानुनी प्रक्रियामा जाने, तेस्रो पक्षको प्रयोग गर्ने र धितो लिलामी गर्ने जुन नेपालमा पनि यो प्रक्रिया भई रहेको देखिन्छ । बैङ्कले धितो सकार्ने वा ऋण अशुली न्यायधिकरणमा ऋणी विरुद्ध मुद्दा दायर गर्ने लगायत छन् । यसरी ऋण असुली गर्दा बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, नेपाल राष्ट्र बैङ्क ऐन, २०५८, बैक तथा वित्तीय संस्थाको ऋण असुली ऐन २०५८ को अक्षरशः पालना गर्नु पर्दछ ।  ऐन अनुसार ऋणीले  विभिन्न पटक भाखा दिँदा पनि ऋण नतिरेमा ऋणीलाई कर्जा सूचना केन्द्रको कालो सूचिमा राख्ने, ऋणीको राहदानी रोक्का गर्ने, धितो बाहेक पनि ऋणीको नाममा रहेको कुनै अचल संपक्ति विक्री गर्न बन्देज लगाउनको लागी सम्बन्धित निकायमा लेखि पठाउने, सरकारले उपलब्ध गराउने नागरिक सुविधाबाट वञ्चित गर्ने लगायतका कार्यहरू बैङ्क तथा वित्तीय संस्थाबाट हुने गर्दछ तथापि ऋण दिनु भन्दा अघि ऋणीको वित्तीय क्षमता, आचरण र व्यावसायिक अवस्थाबारे सूक्ष्म अध्ययन र परियोजनाको राम्रो विश्लेषण गर्न बैङ्क कर्मचारी सक्षम निष्क्रिय कर्जा व्यवस्थापन धेरै टाढाको कुरा नहुन सक्छ ।

ब्याड बैंकको सान्दर्भिकता

पछिल्लो समय संपक्ति व्यवस्थापन कम्पनी अर्थात् ब्याड बैङ्कको चर्चा सुरु भएको छ । हुन त यसले जर्मन लगायत अन्तर्राष्ट्रिय क्षेत्रका कतिपय मुलुकमा उच्च प्राथमिकता पाएको देखिन्छ। सन २००८ को वित्तीय सङ्कटले बैङ्किङ क्षेत्रमा पनि सङ्कट निम्त्यायो फलस्वरूप कर्जा असुलीमा समस्या आई अधिकांश कर्जा खराबमा जानथाले पछि जर्मनमा ब्याड बैङ्क स्थापना गरिएको थियो । यसले मुलत बैङ्किङ क्षेत्रको असुली हुन नसकेको खराब कर्जाको जिम्मा लिई त्यसको व्यवस्थापन वा असुली गर्दछ जसबाट बैङ्किङ क्षेत्रको जोखिम कम हुनुको साथै वित्तीय स्थिरता कायम गर्नमा सघाउन पुर्‍याउने देखिन्छ । एकातर्फ खराब कर्जा बढेर जानु अर्को तर्फ गैर बैङ्किङ संपक्तिको उचित व्यवस्थापन हुन नसक्नुले नेपालको बैङ्किङ क्षेत्रमा पनि ब्याड बैङ्कको जरुरी जरुरी पर्न सक्छ भन्ने तर्फ सम्बन्धित निकाय चनाखो हुनु पर्ने देखिन्छ । ऋण असुली न्यायाधिकरण पनि खराब संपक्ति व्यवस्थापन कै उपज हो । निष्क्रिय कर्जा असुलीमा अनेकौँ प्रयत्नको बाबजुद छ ब्याड बैकको स्थापनाले भोलिका दिनमा बैङ्किङ क्षेत्रको संपक्ति व्यवस्थापनमा सघाउ नपुग्ला भन्न सकिँदैन ।  परियोजना र ग्राहक एवं ऋणीको सही पहिचान र सुरक्षणको राम्रो विश्लेषण नगरी लगानी गर्ने विगतको परम्परा अपेक्षित सुधार नहुदापनि कर्जा असुलीमा समस्या पैदा भएको देखिन्छ । अर्कोतर्फ ब्याड बैक स्थापना भई हाल्यो भने पनि कर्जा असुलीमा समस्या आउदा वित्तिकै ब्याड बैंकमा खराब कर्जा पन्छाउने प्रवृत्ति हाबी नहोला भन्न सकिँदै । सुशासनमा अपेक्षित सुधार नभएको बेलामा आफूले गरेको कर्जा लगानी खराबमा गयो भनेर अरूलाई पन्छाउने प्रवृत्ति नबढ्ला भन्न सकिँदैन ।

डा. वशिष्ठ बैंकिग क्षेत्रका जानकार हुन ।

प्रतिक्रिया

लेखकको बारेमा

डा. दिबाकर वशिष्ठ

डा. वशिष्ठ बैंकिङ क्षेत्रका जानकार हुन् ।