वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

५० करोड लगानी गरेर स्तरोन्नति हुँदै मनकामना केवलकार

अर्थलगानी
२०८१ असार २३, आईतवार

काठमाडौँ। मनकामना केवलकार ५० करोड खर्चेर स्तरोन्नति गरिने भएको छ। लामो समयदेखि प्रयोग गरिरहेको प्रविधि लगायतका अन्य कुराहरुमा परिर्वतन गरी केवलकार अझ आधुनिक र स्तरीय बनाउन लागिएको कम्पनीले जनाएको छ।

हाल २६ औं वर्षमा संचालन भइरहेको मनकामना केवुलकार नेपालको पहिलो केवकार अष्ट्रियाको विश्वकै १ नं. कम्पनी डोपलमायरबाट आयातित मेशिनरीहरूयुक्त छ। राम्रै चलेपनि अब भने स्तरोन्नति गर्न लागिएको कम्पनीले जनाएको हो ।

२६ वर्ष अगाडि जडित प्रविधिमा क्रमिक रूपले समय अनुरूप नयाँ प्रविधि भित्राउन लागिएको हो। हाल निर्माता कम्पनीले समेत यसका पार्टपूर्जा आदि दिन निकट भविष्यमा समस्या रहने र निर्माता कम्पनीकै सुझावमा समयसापेक्ष केवलकारको स्तरोन्नति गर्न लागिएको कम्पनीले जनाएको छ।

‘हाम्रो प्रविधि एनालगमाआधारित प्रविधि हो र यसमा जडित मेन मोटर डीसी करेन्टबाट चल्दछ । हाल स्तरोन्नति हुने प्रविधि डिजिटल र नवीनतम् प्रविधि हो र यसलाई डोपलमायरको डिकनेक्ट सिस्टम भनिन्छ । यसमा सम्पूर्ण डिजिटल प्रविधिबाट चल्नुका साथै यसको मेन मोटर अब एसी करेन्टबाट चल्नेछ । पुरानो मोटर, कन्टोल सिस्टम, प्यानलहरु सबै यसै प्रणालीमा आधारित हुने भएकोले सबै नै मुख्य मेशिनरीहरू सोही अनुसार फेरिने हुन्छ । त्यस्तै हाल दुई स्टेशनबीच जडित कम्युनिकेसन केवल समेत डिजिटल प्रविधि अनुरूप हुने भएकोले सो पनि फेरिने हुन्छ, जसको लम्बाई करिब ३२०० मिटरको हुनेछ ।’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसैगरी, मेन केवल तार लठ्ठा पनि क्रमशः पुरानो भएकोले सो समेत यसै पटक रोकिएको अवधिमा फेरिने र त्यसको लम्बाई करिब ६५०० मिटरको हुने बताइएको छ ।

कम्पनीले केबलकारको सबैभन्दा सुरक्षा दृष्टिकोणले मुख्य मानिने ग्रिपहरु, जसको माध्यमबाट गोन्डोला तारमा झुन्डिने हुन्छ, सम्पूर्ण फेर्ने कार्य २ वर्षअघि नै गरिसकेको छ ।

डोपलमायरको प्राविधिकहरू नै आएर गर्ने सो कार्य गर्न लाग्ने समयको प्रारम्भिक अनुमान ५० दिन लाग्ने डोपलमायर प्राविधिकहरूको छ । तर मौसम आदि अन्य कुराको आधारमा अनुमानित समय चाँडो पनि हुन सक्छ वा लम्बिन सक्ने समेत हुनसक्ने कम्पनीले बताएको छ ।

कम्पनीले स्तरोन्नतिको क्रममा मुख्य गरी मेन लठ्ठा तार फेर्ने, कम्युनिकेसन तार फेर्ने, डिजीटल कन्टोल सिस्टम परिवर्तन गर्ने, सबै तारहरु फेर्ने, डिसी मेन मोटर फेरेर एसी मेन मोटर डाइभ राख्ने, तीनवटा टावर ओभरहालिङ गर्ने तथा जनशक्तिका लागि एड्भान्स तालिम समेत आयोजना गरिने बताएको छ ।

डिजिटल प्रविधिअनुसार यसको संचालन छुट्टै सफ्टवेयरबाट कम्युटर प्रणालीबाट संचालनमा आउनुका साथै कतिपय प्राविधिक समस्या डोपलमायरबाट अष्ट्रियाबाट नै अनलाइन समाधान गर्नसकिने अपेक्षा गरिएको छ । कम्पनीले स्तरोन्नति कार्यका लागि करिब ५० करोड खर्च गर्दैछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी