चितवन। कालिका नगरपालिका–१ स्थित लङ्कालाइनमा रु एक अर्बभन्दा माथिको लगानीमा नयाँ रिसोर्ट सञ्चालनमा आएको छ। हिमाल, पहाड, र तराइका परिकार र संस्कृतिलाई जीवन्त झल्काउने गरी पर्यटन व्यवसायी लाक्पा ढुण्डुप लामाको अगुवाइमा यो रिसोर्ट स्थापना गरिएको हो।
रिसोर्टका अर्का सञ्चालक सुशील चौधरीले रिसोर्टका सबै कोठामा ‘वेलनेस प्रविधि’ जडान गरिएको र रिसोर्टलाई उत्कृष्ट बनाउन प्रविधि र सेवा सुविधामा विशेष ध्यान दिएको बताए। रिसोर्टमा तीन भिल्ला छन्, जसमध्ये एक भिल्ला सञ्चालनमा आइसकेको छ र बाँकी दुई अन्तिम तयारीमा छन्।
दुई बिघा क्षेत्रफलमा फैलिएको यो रिसोर्टमा थारु संस्कृतिलाई झल्काउने आठ कोठा समेत रहेका छन्। मलेसियन नागरिक डोनाल्ड चलेले रिसोर्टको व्यवस्थापकीय जिम्मेवारी सम्हालिरहेका छन्। उनले रिसोर्टलाई विश्वकै नमूना बनाउने प्रयासमा रहेको बताए।
लामाको साझेदारीमा चौधरी र राजेन्द्र महतोले स्थापना गरेको यस रिसोर्टमा आकस्मिक स्वास्थ्य उपचारसहित हेलिप्याडको सुविधा, निजी भिल्ला, निजी स्वीमिङ पुल, साउना, र ज्याकुची जस्ता अत्याधुनिक सुविधाहरू उपलब्ध छन्।
रिसोर्टमा हिमाली क्षेत्रका विशेष परिकार, जडीबुटी, र थारु संस्कृतिका परिकार पस्काइन्छ। हालसम्म रु ५० करोडभन्दा बढी लगानी भइसकेको र आगामी छ महिनाभित्र पूर्णरूपमा सञ्चालनमा आएपछि कुल लगानी रु एक अर्ब माथि पुग्ने अनुमान गरिएको छ।
पर्यटन व्यवसायी चौधरीले पर्यटकलाई चितवन राष्ट्रिय निकुञ्ज, सिराइचुली, र देवघाटलगायतका गन्तव्यमा घुमाउने व्यवस्था गरिएको बताए। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले हालै रिसोर्टको शुभारम्भ गरेका छन्।
प्रतिक्रिया