वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थल १६ घण्टा सञ्चालनमा ल्याउन सीएनआईको माग 

अर्थलगानी
२०८१ भाद्र ३, सोमबार

काठमाडौँ। नेपाल उद्योग परिसंघ (सीएनआई) ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेसँग छलफल गरेको छ । सीएनआई अन्तर्गतको पर्यटन समिति आइतबार मन्त्री पाण्डेलाई भेटेर छलफल गरेको हो।

छलफलमा समितिले मन्त्री पाण्डेलाई बधाई तथा शुभकामना दिँदै पर्यटन क्षेत्रको विकास र सुधारका लागि युरोपसँगको सिधा हवाई सम्पर्क पुनः स्थापित गरिनुपर्ने, राष्ट्रिय ध्वजावाहकलाई प्रतिस्पर्धी बनाइनुपर्ने, पर्यटन ऐन र नीति ल्याइनुपर्नेमा माग राखे।

यस्तै हवाई दुर्घटना न्यूनीकरण, दुई वटा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन, नेपाल पर्यटन बोर्ड, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन समय सम्बन्धमा पनि समितिले सुझाव दिएको छ।

परिसंघका उपाध्यक्ष राज बहादुर शाहले पर्यटन क्षेत्र विकास र लगानीको सम्भावना बढी भएको क्षेत्र भएकोले यस क्षेत्रको विकासका लागी नयाँ नीतिहरू ल्याउन जरुरी रहेको बताए। पर्यटन क्षेत्रका समस्या बारे जानकारी गराउँदै उनले समाधानका उपाय समेत राखेका थिए।

छलफलमा समिति सदस्य रबीचन्द्र सिंहले आगामी नोभेम्बर ८ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको समयावधि १४ घण्टाबाट बढाएर १६ घण्टा बनाउन आग्रह गरेका छन्।

पर्यटकीय मौसम भएकाले सो मितिदेखि राति १० बजेसम्म सञ्चालन हुने भनिएको समयावधि बढाएर राती १२ बजेसम्म गर्नुपर्ने परिसंघको माग रहेको छ।
उनले सरकारले यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको तर नेपालको हवाई टिकटको मूल्य धेरै भएकोले लक्ष्य अनुरूप पर्यटकहरू भित्र्याउन गाह्रो हुने समेत जानकारी गराए।

उनले हवाई टिकटमा लगाइएको मूल्य अभिवृद्धि करलाई पुनरावलोकन गर्न जरुरी रहेको बताए।

समिति सदस्य अशोक पोख्रेलले पर्यटन विकासका लागी नेपालले पहुँच वृद्धि गर्नुपर्नेमा जोड दिए। जसका लागी नेपालबाट युरोप जान आउनका लागी सहजीकरण गर्न नेपाललाई युरोपियन युनियनको सुरक्षा सुचीबाट हटाउन प्रभावकारी  पहल आवश्यक रहेको उनको भनाई थियो।

राष्ट्रिय ध्वजावाहकलाई बलियो बनाउनुपर्ने, नेपाल पर्यटन बोर्डलाई यसको उद्देश्य अनुरूप अगाडि बढाउनुपर्नेमा उनको जोड रहेको छ।

सो अवसरमा मन्त्री पाण्डेले पर्यटन क्षेत्रको समस्या समाधानका लागी कामको प्राथमिकता हेरेर अगाडीमा आफू सकारात्मक रहेको बताए। २०८३ भदौ सम्ममा पोखरा र भैरहवा एयरपोर्टको समस्या समाधान हुने गरी काम गरिरहेको मन्त्री पाण्डेले जानकारी गराए।

त्यस्तै उनले पर्यटन ऐन तयारी अवस्थामा रहेकाले  चाडै आउने जानकारी गराए। नेपाल एयरलाइन्सलाई सबल बनाउने विषयमा थप छलफल तथा सल्लाह सुझाव लिँदै अगाडि बढ्ने बताए।

परिसंघ पर्यटन समिति सभापति पम्फा धमला, सदस्यहरु हिक्मत सिंह ऐर, तिलक लामा, दिपकराज जोशीलगायतको उपस्थितिमा छलफल सम्पन्न भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी