वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उपल्लो मुस्ताङमा पर्यटकको सहजताका लागि साइन पोस्टिङ र सूचनापाटीको व्यवस्था

अर्थलगानी
२०८१ भाद्र २३, आईतवार

काठमाडौं । उपल्लो मुस्ताङको पदमार्गमा पर्यटकहरूको सहज यात्रा सुनिश्चित गर्न अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० ले नयाँ व्यवस्था लागू गरेको छ। क्षेत्रका ४८ स्थानमा साइन पोस्टिङ, सूचनापाटी र होर्डिङ बोर्ड राखिएको छ।

लोमान्थाङस्थित एक्याप इलाका संरक्षण कार्यालयले पर्यटकलाई मार्गदर्शन गर्न साइन पोस्टिङको व्यवस्था गरेको हो। प्रमुख प्रमोदराज रेग्मीका अनुसार, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका र लोमान्थाङ गाउँपालिकाका विभिन्न स्थानमा यो व्यवस्था गरिएको छ। यसका लागि गुफा, ताल, गुम्बा, दरबार लगायतका ऐतिहासिक, प्राकृतिक र धार्मिक स्थलहरूको महत्त्व बताउने सूचनापाटी राखिएको छ।

साइन पोस्टिङले पर्यटकलाई सही गन्तव्यमा पुग्न र मार्गमा सजिलो अनुभव गर्न मद्दत गर्नेछ। साथै, वन्यजन्तु संरक्षण र मानव(वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सावधानी अपनाउने सन्देशमूलक होर्डिङ बोर्ड पनि राखिएको छ।

यो व्यवस्था खासगरी हिउँचितुवा, रातो भालु, तिब्बती अर्गेली जस्ता दुर्लभ जनावरहरूको संरक्षण र मानव(वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि गरिएको हो।

स्थानीय पर्यटकहरुले सूचनापाटी र साइन पोस्टिङले यात्रा सहज भएको बताएका छन्। उनीहरूले अझ धेरै स्थानमा यो व्यवस्था राख्नुपर्ने आवश्यकता औंल्याएका छन्।

उपल्लो मुस्ताङको पर्यटकीय आकर्षणमा माटोको पर्खालभित्र रहेको लोमान्थाङ बस्ती, ऐतिहासिक दरबार, गुम्बा, गुफा, दामोदरकुण्ड जस्ता स्थलहरू समावेश छन्। २०२३ मा यहाँ ३,४८४ विदेशी पर्यटकले भ्रमण गरेका थिए, जसमा आन्तरिक पर्यटकको आगमन बढिरहेको छ।

विदेशी पर्यटकहरूले १० दिनका लागि ५०० अमेरिकी डलर र १० दिनभन्दा बढी समयका लागि प्रतिदिन ५० डलर शुल्क तिर्नुपर्ने नियम लागू गरिएको छ। यद्यपि, उच्च शुल्कका कारण आगमन अपेक्षित स्तरमा नभएको र स्थानीय जनजीवनमा असर परेको भन्दै निषेधित क्षेत्र हटाउन माग गरिएको छ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टासीनर्बु गुरुङले भने,निषेधित क्षेत्र हटाउने अनुरोध गर्दै आएका छौँ, ताकि पर्यटक आगमनमा वृद्धि होस् र स्थानीयको जीवनस्तरमा सुधार ल्याउन सकियोस्।

 

 

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी