काठमाडौँ। नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी प्रमुख (सीईओ) दीपकराज जोशीले आइतबार पदभार ग्रहण गरेका छन्। आपसी सहकार्यमा पर्यटनलाई थप चलायमान बनाउने प्रतिबद्धता सहित उनले पदभार ग्रहण गरेको हुन्।
उनले बोर्ड सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलको संस्था भएकाले त्यसको उद्देश्य अनुरुप काम गरिने बताए। ‘पर्यटन राज्यको प्राथमिक क्षेत्र हो। पर्यटन बोर्ड (पीपीपी) मोडल हो। निजी क्षेत्रले समेत हामीबाट धेरै अपेक्षा गरेको छ। त्यसैले सबैको सहकार्यबाट पर्यटनलाई अगाडी लैजानु आजको आवश्यक्ता हो,’ उनले भने।
आफ्नो कार्यकालमा पर्यटनको बजारीकरण, जनसम्पर्क विस्तार, अनुसन्धान तथा आन्तरिक जनशक्तिको विकास प्राथमिकतामा रहने उनले बताए। उनले आफूले कुनै पूवाग्रह नराखी काम गर्ने प्रतिवद्धता जनाएका छन्। उनले नयाँ परिवेशमा नयाँ सोच र चिन्तन साथ काम गर्न कर्मचारीलाई निर्देशन समेत दिएका छन्।
वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले नवनियुक्त कार्यकारी प्रमुखको अनुभवले बोर्डले थप उचाई प्राप्त गर्ने विश्वास व्यक्त गर्दै सफलको शुभकामना दिए। कर्मचारी युनियनका तर्फबाट बोर्डका अधिकृत सुदन सुवेदीले लामो समयदेखि कर्मचारीको वृत्ति विकास रोकिएको बताउँदै नयाँ कार्यकारी प्रमुख जोशीबाट कर्मचारीका माग सम्बोधन हुने अपेक्षा गरिएको बताए।
नेपाल पर्यटन बोर्ड कार्यकारी समितिको मिति २०८१ भाद्र २० गते बसेको ३७९औं बैठकले नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को दफा १४ बमोजिम उनलाई ४ वर्षको लागि कार्यकारी प्रमुखमा नियुक्ति गर्ने निणर्य गरेको थियो। जोशीले यसअघि पनि बोर्ड सीईओका रुपमा काम गरिसकेका छन्।
प्रतिक्रिया