वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नरोकिने भयो खुम्बु क्षेत्रमा हेलिकप्टर उडान

अर्थलगानी
२०८१ पुष २३, मंगलवार

काठमाडौँ। खुम्बु क्षेत्रमा हेलिकप्टर उडानलाई निरन्तरता दिने निर्णय भएको छ। सगरमाथा राष्ट्रिय निकुञ्जले वन, वन्यजन्तु तथा जैविक विविधतामा कुनै असर नपर्ने गरी अनुमति लिएर हेलिकप्टर उडान गर्न सहमति जनाएपछि खुम्बु क्षेत्रमा उडान फेरि सुरु हुने भएको हो।

यसअघि, निकुञ्ज र गाउँपालिकाले व्यावसायिक उडानमा रोक लगाउँदै, १ जनवरी २०२५ देखि मात्र अत्यावश्यक उडानको अनुमति दिने निर्णय गरेका थिए।

तर, व्यवसायीहरूले सुरक्षा कारण देखाउँदै अत्यावश्यक उडान समेत रोक्ने चेतावनी दिएपछि सगरमाथा राष्ट्रिय निकुञ्जले आफ्नो निर्णय पुनरावलोकन गरेको हो। व्यवसायीहरूको यो कदमले बिरामी उद्धार, विपद् व्यवस्थापन, र पर्यटन प्रवर्द्धनमा समस्या उत्पन्न गराएको थियो।

स्थानीय प्रशासनको चासो र चेतावनी

सोमबार मात्रै जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बुले सगरमाथा क्षेत्रका हेलिप्याडहरूमा राखिएको रातो झन्डाप्रति गम्भीर चासो व्यक्त गरेको थियो। प्रशासनले नियमअनुसार सञ्चालित हेलिकप्टर उडानमा अवरोध गर्दा आपतकालीन उद्धार, पर्यटकीय गतिविधि, र अन्य आवश्यक कार्यहरूमा असर पर्ने बताएको छ।

स्थानीय प्रशासनले हेलिकप्टर उडानमा अवरोध गर्नेमाथि कानुनी कारबाही गर्ने चेतावनी पनि दिएको छ।

सगरमाथा राष्ट्रिय निकुञ्जले नयाँ सहमतिको आधारमा अनुमति लिएर मात्र उडान गर्न पाउने व्यवस्था गरेको छ। यसले खुम्बु क्षेत्रमा हेलिकप्टर उडानलाई नियमबद्ध ढंगले निरन्तरता दिने वातावरण सिर्जना गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी