काठमाडौँ। नेपाल सन् २०२५ को एकल साहसिक यात्रा गन्तव्यको सातौं स्थानमा परेको छ। यो सूची बेलायतस्थित साहसिक पर्यटन कम्पनी मच बेटर एड्भेन्चर्स’ले सार्वजनिक गरेको हो, जसले विश्वका २५ उत्कृष्ट सोलो साहसिक यात्रा गन्तव्यहरू चयन गरेको छ।
नेपाल पर्यटन बोर्डले देशको प्राकृतिक र सांस्कृतिक विविधता, उत्तरदायी पर्यटन प्रवर्द्धन, र सुरक्षित यात्रा वातावरणलाई विश्वसामू प्रभावकारी रूपमा प्रस्तुत गर्दै आएको छ। मच बेटर एड्भेन्चर्सले नेपाललाई अद्वितीय भू–दृश्य, साहसिक गतिविधि, र बजेटमैत्री सेवाका लागि उच्च मूल्याङ्कन गरेको छ। यहाँ एभरेष्ट बेसक्याम्प ट्रेक, अन्नपूर्ण सर्किट, र चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारीजस्ता गतिविधिहरूले एकल यात्रुहरूलाई आकर्षित गरेको बताइएको छ।
नेपाल पर्यटन बोर्डले एकल यात्रुहरूको अनुभवलाई अझ समृद्ध बनाउन गन्तव्यहरूमा आवश्यक सूचना उपलब्ध गराउने, स्थानीय गाइडमार्फत सुरक्षित यात्रा सुनिश्चित गर्ने, र संस्कृति, प्रकृति तथा साहसिक क्रियाकलापको सन्तुलित संयोजनमा जोड दिएको छ। साथै, हिमाली क्षेत्र, राष्ट्रिय निकुञ्ज र ऐतिहासिक स्थलहरूमा स्थानीय समुदायको सहभागिता र संरक्षणलाई प्राथमिकतामा राखेको छ।
नेपालको यात्रा लागत औसतमा सस्तो पर्ने भएकाले बजेटमैत्री गन्तव्यका रूपमा पनि नेपाललाई उच्च मूल्याङ्कन गरिएको छ। सस्तो आवास, सहुलियतपूर्ण प्याकेज र प्रचुर सांस्कृतिक तथा प्राकृतिक अनुभव पाउन सकिने बताइएको छ।
मच बेटर एड्भेन्चर्सका सहसंस्थापक स्याम ब्रुसका अनुसार, यो सूची विशेषज्ञहरूको सुझाव र ग्राहकको यात्रा अनुभवका आधारमा तयार गरिएको हो। उनले भने, “नेपालले एकल यात्रुहरूलाई अद्भुत प्रकृति, गहिरो आध्यात्मिकता र हार्दिक सत्कार प्रदान गर्छ – चाहे त्यो काठमाडौंका व्यस्त गल्लीहरू हुन् वा हिमाली क्षेत्रका शान्त र रमणीय स्थलहरू।”
यस सूचीमा नेपालले विश्वका अन्य चर्चित गन्तव्यहरूसँग प्रतिस्पर्धा गर्दै सातौं स्थान हासिल गरेकोले आगामी दिनमा नेपालमा एकल साहसिक यात्रुहरूको संख्या बढ्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया