काठमाडौँ। मौलाकाली केबलकारले ५० प्रतिशत छुट सहितको अफर सार्वजनीक गरेको छ। अफर अन्तर्गत प्रत्येक बुधबार दिउँसो २ बजेपछि केबलकारको टिकट काट्दा ५० प्रतिशत छुट पाईनेछ।
केबलकारका स्टेसन मेनेजर सुरज पौडेलले उक्त अफर यही साउनदेखि लागू हुने गरी ल्याएको बताए।
हाल केबलकारको दुइतर्फी साधारण टिकट मूल्य रु.५५० कायम छ। यसमा ५० प्रतिशत छुट दिँदा २२५ रुपैयाँ मात्रै पर्न आउँछन एकतर्फको लागि मात्रै ११२ रुपैयाँ ५० पैसा लाग्छ।
यो अफरले आम सर्वसाधारणलाई सस्तो मूल्यमा केबलकारमा यात्रा गर्ने अवसर मिल्नुका साथै दर्शनार्थीलाई दिउँसो पनि मन्दिर जान प्रेरित गर्नेछ। यसबाट मौलाकालिका मन्दिर जाने दर्शनार्थीको संख्यामा पनि उल्लेख्य वृद्धि हुने अपेक्षा छ।
दिउँसो गर्मीको समयमा दर्शनार्थीहरु मन्दिर कम जाने गरेकोमा यो अफरले केही हदसम्म दिउँसो मन्दिर जाने क्रम बढाउने विश्वास रहेको केबलकारका स्टेसन मेनेजर पौडेल बताउँछन्।
मौलाकालिका मन्दिरमा यसअघिका वर्षको तुलनामा यो सिजनमा भक्तजनको संख्यामा उल्लेख्य वृद्धि भएको छ। धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाका अनुसार मौलाकाली केबलकार सञ्चालनमा आएपछि मन्दिरमा पूजाआजा गर्न आउने भक्तजनको संख्या करिब २५ प्रतिशतले बढेको छ। गर्मी, वर्षात्, खेतीपातीलगायत विविध कारणले अघिल्ला वर्षहरुमा यो बेला मन्दिरमा निकै कम मात्रामा भक्तजन आउने गरेकोमा यसपालि यो बेमौसममा पनि उल्लेख्य भक्तजनको आगमन छ।
धार्मिक तथा ऐतिहासिक महत्वको मौलाकालिका मन्दिर जाने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी गत वैशाख १ गतेदेखि सञ्चालनमा आएको मौलाकाली केबलकारले बिदाका दिनबाहेक बिहान ६ बजेदेखि भक्तजनहरुलाई सेवा दिँदै आएको छ। शनिबार र अन्य बिदाका दिनमा बिहान ५ः३० बजेदेखि केबलकार सञ्चालन हुने गरेको छ।
प्रतिक्रिया