वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दुई दिनको सम्मेलनबाट साढे १८ अर्बको लगानी सम्झौता

अर्थलगानी
२०८१ बैशाख १८, मंगलवार

काठमाडौँ। ‘तेस्रो लगानी सम्मेलन २०२४’ मा जम्मा करिब साढे १८ अर्बको लगानी सम्झौता भएको छ। सम्मेलनमा १८ अर्ब ४० करोड रुपैयाँ बराबरको सम्झौता भएको हो।
निजी क्षेत्रबाट लगानी हुने आयोजनाहरुमा नेपालको शाख गु्रप र हङकङको बोर होटलबीच नेपालमा करिब १ अर्ब ९० करोड रुपैयाँ लगानी भित्र्याउने सम्झौता भएको छ।

त्यस्तै नेपाल एसोसिएसन अफ पिपिपि (एनएपीपीपी) र वल्र्ड एसोसिएसन अफ पीपीपी युनिट एण्ड पीपीपी प्रोफेसनल (वाप्प) बीच सम्झौता भएको हो। नेक्सजेन मेनेजमेन्ट सोलुसन र बिएमबिसी इनभेस्टमेन प्रालि बीच पनि सोही सम्मेलनमा सम्झौता भएको छ।

एक्सपर्ट गु्रपले अस्ट्रेलियन लगानीमा रारामा लक्जरी रिसोर्ट सञ्चालनमा ल्याउन पनि निजी क्षेत्रबाटै सम्झौता भएको लगानी बोर्डले जनाएको छ। पहिलो चरणमा ७० करोड र दोस्रो चरणमा ४० करोड रुपैयाँ लगानी गर्ने गरी तेस्रो लगानी सम्मेलनको अवसरमा सम्झौता भएको हो। सम्झौतामा एक्सपर्ट गु्रपकातर्फबाट बद्रि अर्याल र सञ्जिव शर्मा तथा रारा होल्डिङस् रिसोर्ट प्रालिका तर्फबाट अभिषेक विक्रम शाहले हस्ताक्षर गरेका छन्।

त्यस्तै चिनियाँ कम्पनी ‘सिएन गोल्ड ड्रागन अटोबडी’ले नेपालमा विद्युतीय गाडी उत्पादनका लागि ३ अर्ब रुपैयाँ वैदेशिक लगानी गर्ने सम्झौता गरेको छ। नेपालको ‘कोसी एनके मोटर्स’ र ड्रागन अटोबडीबीच लगानी सम्झौता भएको हो।

सम्मेलनको पहिलो दिन आइतबार नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) र मलेसियाको चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजबीच पनि सम्झौता गरिएको थियो।

त्यस्तै सूचना तथा प्रविधिसँग सम्बन्धी रामकोटमा साढे ३ अर्ब रुपैयाँभन्दा बढी लागतको डाटा सेन्टर स्थापनाका लागि पनि सम्झौता गरिएको थियो। सो सम्झौता भारतको योट्टा डेटा सर्भिसेज र नेपालको बिएलसी होल्डिङबीच भएको थियो।

तीनवटा परियोजनामा सरकारको सम्झौता
त्यस्तै सरकारी प्रस्ताव अन्तर्गत उद्योग विभागसँग ९ अर्ब बढीका ३ परियोजनाको लगानी सम्झौता भएको छ। सुसान हु चाइना र उद्योग विभाग बीच लगानी कम्पनी गर्न ६ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ। एसएन जेजी इन्भेसमेन्ट प्रालि अस्ष्ट्रेलियासँग बिजनेस कम्प्लेक्स निर्माणका लागि विभागले ३ अर्ब रुपैयाँ लगानी ल्याउन सम्झौता गरेको छ।

अचलर्स इनर्जि लिमिटेड युके र मोहन्याल गाउँपालिकासँग कैलालीमा विभागले २०० केभि क्षमताको हाइड्रोपावर बनाउन सम्झौता गरेको छ। हाइड्रोपावरको लागत ७ करोड ६६ लाख रुपैयाँ बढी छ। ३ वटै सम्झौतापत्रमा उद्योग मन्त्री दामोदर भण्डारीले हस्ताक्षर गरेका हुन्।

सम्मेलनमा सरकारले १५० वटा आयोजनाहरु सोकेसमा अर्थात प्रर्दशनीका लागि राखेको थियो । सो मध्ये ४ वटा ठूला आयोजनाहरु भने परियोजना विकास सम्झौता (पिडिए) गर्ने भनेर प्रचार गरेको थियो । पर्याप्त तयारी नभएपछि लगानी सम्मेलनमा त्यी चारवटै ठूला आयोजनाहरुको पिडिए हुन सकेन ।

लगानी बोर्डका अनुसार दमक औद्योगिक पार्क, अप्पर मस्र्याङ्दी–२, कोहलपुरमा बन्ने ४० मेगावाट क्षमताको सोलार परियोजना र डाबर नेपालको लगानी विस्तार सम्बन्धित सम्झौता पिडिए गर्ने सोच सरकारको थियो तर पर्याप्त मात्रामा तयारी नपुगेको भन्दै अर्को पक्षले पिडिए गर्न नमानेपछि सो सम्झौता रोकिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी