वीरगञ्ज । श्रीनिधि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष प्रेम चुडामणि बज्राचार्यको अध्यक्षता एवं राष्ट्रिय सहकारी बैंक लि. का अध्यक्ष केबि उप्रेतीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत चन्द्रेश्वर प्रसाद चौरसियाले आ.व २०७९/०८०को कुल कारोवार ९७ करोड ४३ लाख ७३ हजार ८ सय ४ रुपैंयाको भएको सार्वजनिक गरेका थिए । उनले संस्थाको शेयर पुजी ४ करोड ८३ लाख ८९ हजार ५०० सय र बचत संकलन ६९ करोड, ७४ लाख ७९ हजार ३ सय ९ रुपैया रहेको छ ।
जगेडा तथा अन्य कोषहरूमा ४ करोड ७ लाख ४५ हजार ६ सय ५६ रुपैया र कर्जा तथा सापटी ६४ करोड ६५ लाख २३ हजार २ सय ५४ रुपैया रहेकोमा खुद नाफा एक करोड ३१ लख ४ हजार ३९१ रुपैया रहेको चौरसियाले बताएका थिए । चौरसियाले संस्थाको स्थिर सम्पति वीरगञ्जको आदर्शनगर स्थित भाजुरत्न चौक नजिक रहेको साढे पन्ध्र धुर जग्गा जोड्न सफल भएको र सो जग्गामा एक बर्षभित्र भवन निर्माण गर्ने योजना रहेको प्रमुख कार्यकारी अधिकृत चौरसियाले बताए ।
संस्थाले २०७५ साल देखि नै प्रविधिमा आधारित मोबाईल बैंकिङ्ग सेवा, एस.एम.एस सेवा, एटिएम कार्ड सेवा तथा क्युआर कोड सेवा सुचारु गरेको बताएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमख अतिथिसमेत रहेका राष्ट्रिय सहकारी बैंक लि. का अध्यक्ष केबि उप्रेतीले केहि सिमित व्यक्तिहरुले सहकारीलाई बदनाम गरेको आरोप लगाएका थिए ।
उनले पछिल्ला दिनहरुमा केहि समूहहरुले नियोजित रुपमै लागेर सहकारी बिरुद्ध भ्रम सृजना गरेको दावी गरे। सहकारीलाई राज्यले समेत चाहिने जति सहयोग नगरेको आरोप लगाउँदै प्रमुख अतिथी उप्रेतीले सहकारी बिरुद्ध फैलाइएको भ्रमको पछि न लाग्न अनुरोध समेत गरे।
वीरगञ्जको टाउन हलमा सम्पन्न कार्याक्रम जिल्ला बचत तथा ऋण सहकारी संस्थाका पर्सा अध्यक्ष राजेश पीडित, जय गणेश सहकारीका शम्भु गुप्ता,लालीगुराँसका हरेराम पटेल लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमका अतिथी तथा उत्कृष्ट कर्मचारीहरुलाई सम्मानित समेत गरिएको थियो ।
प्रतिक्रिया