काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघ, बालुवाटार समितिले संविधान दिवसको अवसरमा असोज ३ देखि ५ गतेसम्म दोस्रो अन्तरबैंक फुटसल प्रतियोगिता सञ्चालन गर्ने भएको छ।
‘क’, ‘ख’, र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका कर्मचारीबीच आयोजना गरिने यो प्रतियोगितामा महिलातर्फ २३ र पुरुषतर्फ ३७ वटा टिम सहभागी हुनेछन्। भदौ ३० गते समूह विभाजन र ट्रफी सार्वजनिक गरिएको संघले जनाएको छ।
प्रभु बैंक मुख्य प्रायोजक रहेको यस प्रतियोगिताको सह(प्रायोजकहरूमा कृषि विकास बैंक, लक्ष्मी सनराइज बैंक, एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक, आइसिएफसी फाइनान्स, महालक्ष्मी विकास बैंक, नबिल बैंक, एनएमबी बैंक, साइन रेसुंगा विकास बैंक, सिद्धार्थ बैंक, र हिमालयन बैंक रहेका छन्।
यस प्रतियोगितामा ओम हस्पिटल एन्ड रिसर्च सेन्टर मेडिकल पार्टनर, बोटलर्स नेपाल र एसिएन थाई फुड्स विभरेज पार्टनर, तथा राष्ट्रिय बीमा कम्पनी बीमा पार्टनरको रूपमा रहनेछन्। खेलहरू हाँडीगाउँस्थित धनयन्तरी स्पोर्ट्स हबमा सञ्चालन हुनेछन्।
नेपाल राष्ट्र बैंकसहित १९ वाणिज्य बैंक, १० विकास बैंक, ६ वित्त कम्पनी, र आयोजक टोलीको सहभागिता रहने यस प्रतियोगिताको नकआउट र फाइनल खेलहरूको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डट कम मार्फत गरिनेछ।
महिला तथा पुरुषतर्फका विजेता टोलीले १ लाख नगद, ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५० हजार नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस प्रतियोगितामा पुरुषतर्फ एनआईसी एसिया बैंक र महिलातर्फ ग्लोबल आइएमई बैंकले उपाधि रक्षा गर्नेछन्।
प्रतिक्रिया