नवलपरासी। विश्वबाटै लोप हुने अवस्थामा पुगेको अतिसङ्कटापन्न घडियाल गोहीको संरक्षणका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा काव्य उत्सव हुने भएको छ ।
पर्यापर्यटन, जैविक विविधता, दिगो पर्यटन, संरक्षण र संवर्द्धनका विविध आयामलाई समेट्दै जिल्लाको पिप्रहरमा दुई दिनसम्म काव्य उत्सवको आयोजना गर्न लागिएको हो । देवचुली नगरपालिकामा रहेको सञ्चार संस्था ह्याप्पी एफएमले जिल्लाको पर्यटन विकासमा चासो र चिन्ता व्यक्त गर्दै घडियाल काव्य उत्सवको आयोजना गरेको संस्थाका प्रबन्ध निर्देशक दिपेश कडरियाले बताए।
“पाँच वर्षअघि विसं २०७५ मा घडियाल काव्य उत्सवको पहिलो संस्करण आयोजना गरेको एफएमले विषयवस्तु र मुद्दालाई परिष्कृत र परिमार्जित गर्दै दोस्रो संस्करण गर्न लागेको हो”, उनले भने।
जिल्लाको देवचुलीमा रहेको पिप्रहर सामुदायिक होमस्टेमा यही वैशाख २२ र २३ गते कार्यक्रम आयोजना गरिएको छ । घडियाल काव्य उत्सवको विभिन्न नौ वटा सत्रमा घडियाल गोही, नारायणी नदी, चरा पर्यटन, संरक्षण शिक्षा, निकुञ्जको आवश्यकता र बाध्यता, प्रकृति र साहित्यको सम्मिश्रण, देवचुली डाँडाको गौरवका साथै काव्य वाचन गरिने छ ।
“सत्रमा विश्व वन्यजन्तु कोष नेपालका प्रमुख डा घनश्याम गुरुङ, पूर्वमन्त्री एवं पानी विज्ञ गणेश शाह, वर्ल्ड लाइफ इन्टरनेशनल एसिया पार्टनरसिप म्यानेजर डा हुम गुरुङ, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिल पुर्जा मगर, गण्डकी प्रदेशसभा सदस्य महेन्द्रध्वज जिसी, कलाकार राजेश हमाललगायत विभिन्न स्थानीय तहका प्रमुखको उपस्थितिमा बहस हुनेछ”, कडरियाले भने।
नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माले लोपोन्मुख घडियाल संरक्षणका निम्ति एफएमले आयोजना गरेको काव्य उत्सवले संरक्षणमा सकारात्मक सन्देश दिने बताए।
प्रतिक्रिया