काठमाडौँ। अर्जेन्टिनाका पूर्वअर्थमन्त्री र पाब्लो गुइडोटी र फेडरल रिजर्वका पूर्वअध्यक्ष अलान ग्रिन्सपानको नियमअनुसार कुनै देशको विदेशी विनिमय सञ्चिति अल्पकालीन बाह्य ऋण भुक्तानी गर्न पर्याप्त हुनुपर्छ। अल्पकालीन बाह्य ऋण भन्नाले एक वर्ष र त्योभन्दा कम भुक्तानी भएको विदेशी ऋण भन्ने बुझिन्छ। परम्परागत मान्यता अनुसार (रुल अफ थम) तीन महिनाको आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति भएमा त्यसलााई सुविधा जनक मानिन्छ। उदीयमान देशका लागि भने छ महिनाको आयात धान्न पुग्ने र अल्पकालीन ऋणको २०० प्रतिशतसम्म विदेशी मुद्रा सञ्चिति आवश्यक हुने मानिन्छ।
विगत वर्षमा विभिन्न देशमा देखिएको आर्थिक संकट र त्यसको कारणले भएको विदेशी मुद्रा पलायन हेर्दा यसैलाई नै आधार मान्न कठिन हुने देखिन्छ। विश्वमा विदेशी मुद्रा सञ्चिति हेर्दा जुन देशले बढी निर्यात गरेको छ, अर्थात् व्यापार बचतमा रहेको छ ती देशमा नै सञ्चिति रहेको छ। विश्वमा सबैभन्दा बढी विदेशी विनिमय सञ्चिति हुने देश चीन रहेको छ। चीनको विदेशी विनिमय सञ्चिति ३ ट्रिलियन अमेरिकी डलर रहेको छ । चीन पछि विदेशी विनिमय सञ्चिति बढी हुने देशहरुमा क्रमशः जापान, स्वीजरल्यान्ड र साउदी अरेविया रहेका छन् । हाम्रो छिमेकी मुलुक भारतको विदेशी विनिमय सञ्चिति झन्डै ७०० विलियन अमेरिकी डलर रहेको छ ।
देशको अर्थतन्त्र चलायमान बनाउन विदेशी मुद्रा सञ्चिती एक महत्वपुर्ण अवयव हो । विदेशी मुद्रा राज्यको सम्पत्ति हो । यसको जथाभावी प्रयोग गरी दुरुपयोग गर्नु हुँदैन ।आफैंले कमाएको भए पनि विदेशी मुद्रा सरकारी निकायले तोके बमोजिम मात्र खर्च गर्न पाइन्छ । यसको दुरुपयोग गरेमा कानुन बमोजिम कारबाही हुने गर्दछ । नेपाल राष्ट्र बैंकको स्वीकृति नलिई कसैले पनि विदेशी मुद्राको कारोबार गर्न पाइँदैन । मुलुकभित्र विदेशी मुद्राको चलन गर्न अर्थात् कारोबार गर्न पनि पाइँदैन । भारतीय रुपैयाँ (भा.रु.)लगायत सम्पूर्ण विदेशी मुद्रा साटेर नेपाली मुद्रामा मात्र कारोबार गर्नुपर्ने व्यवस्था रहेको छ भने विदेशी मुद्रा सटही गर्दा स्वीकृति प्राप्त कम्पनीबाट मात्र कारोबार गर्नु पर्दछ।
नेपालमा भित्रिएको समग्र विदेशी विनिमयको ढुकुटी जिम्मा लिई सोको व्यवस्थापन गर्ने काम नेपाल राष्ट्र बैंकले गर्दछ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार पनि यस बैंकलाई विदेशी विनिमय सञ्चिति परिचालन गर्ने अधिकार दिइएको छ। ऐनअनुसार बैंकले विदेशी विनिमय सञ्चितिको परिचालन गर्छ। यस्तो सञ्चिति सम्बन्धित विदेशी विनिमयमा अंकित हुनेछ । यस्तो सञ्चिति भन्नाले बैंकले जिम्मा लिएको वा बैंक खातामा रहेको सुन तथा बहुमूल्य धातु, विदेशी मुद्रा, बैंकको नाममा विदेशी केन्द्रिय बैंक वा अन्य विदेशी बैंक खातामा रहेको विदेशी मुद्रा, अन्तर्राष्ट्रिय वित्तीय संस्थासँग वा ती संस्था जमानी बसेको र भविष्यमा खरिद गर्ने गरी बैंक तथा अर्को पक्षबीच विदेशी विनिमयमा भुक्तानी हुने गरी भएको सम्झौता भन्ने बुझिन्छ। विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ ले पनि विदेशी विनिमयसम्बन्धी सम्पूर्ण कारोबार गर्ने अधिकार यस बैंकलाई दिइएको छ।
आज विश्व बजार एकीकृत भइसकेको अवस्था विधमान छ। विश्वव्यापीकरणको प्रभाव र फैलावटले एक देशमा उत्पादन भएका वस्तु र सेवा संसारका हरेक देशबाट उपभोग गर्न सकिन्छ। साथै डिजिटल प्रविधि प्रयागले गर्दा विश्वको जुनसुकै देशबाट पनि सेवा उपयोग गर्न सकिन्छ। विश्वकै कुनै देशले पनि आफ्ना नागरिकलाई विदेशी वस्तु र सेवा उपभोग गर्नबाट रोक्न सक्दैन। आफ्नोे देशमा त्यही वस्तु उत्पादन हुने र सेवा उपभोग गर्न पाइने भए पनि मूल्य र गुणस्तरका कारणले विश्वका अन्य देशका वस्तु र सेवा उपभोग गर्न नागरिक स्वतन्त्र हुन्छन्। शिक्षा, औषधोपचार र पर्यटनका कारणले गर्दा विश्वका सबै देशका जनता सबै देशमा जान सक्छन्। पेट्रोलियम पदार्थ, ग्यास र सुन–चाँदी, फलामजस्ता खानिजजन्य पदार्थ सबै देशमा उत्पादन हुन नसक्ने भएकाले ती वस्तु उत्पादन हुने देशबाट अनिवार्य रूपमा आयात गर्नैपर्ने हुन्छ। यसरी कुनै पनि देशका लागि विदेशी विनिमय सञ्चितिको मात्रा बढाउनुपर्ने र त्यसको परिचालन गर्ने कार्य चुनौतीपूर्ण छ।
नेपाल राष्ट्र बैंकले नेपाली नागरिकले विदेश जाँदा लैजान पाउने डलर सटही सुविधा तथा आयातका लागि पाइने विदेशी मुद्रासम्बन्धी नियमलाई केही खुकुलो बनाएको छ। विदेशी मुद्रा सञ्चिति उल्लेख्य बढेपछि गत साता सार्वजनिक गरिएको मौदिक्र नीतिमै त्यस्ता खुकुला प्रावधानहरू राखिने घोषणा गरिएको थियो।उक्त घोषणालाई कार्यान्वयन गर्न राष्ट्र बैंकले परिपत्र जारी गर्दै अब नेपालीले जति पटक विदेश जाँदा पनि हरेक पल्ट २ हजार ५ सय अमेरिकी डलर साट्न पाउने व्यवस्था गरेको छ। पहिले एक वर्षमा दुई पटक मात्र यस्तो सुविधा पाइन्थ्यो। त्यस्तै विभिन्न खाले आयात र डलर खाता भएका नेपाली एवं विभिन्न निकायका कर्मचारीले खर्च गर्न पाउने डलरको सीमा पनि केही बढाइएको छ। राष्ट्र बैंकको यो कदमलाई कतिपय विज्ञ “उपभोगमुखी कार्य बढाउने खालको अल्पकालीन नीति” भनेर आलोचना गर्छन्। राष्ट्र ब्यांकले भने बढ्दो विदेशी मुद्रा सञ्चितिको खपत बढाउन यस्तो नीति लिएको जनाएको छ।
विदेशी विनिमय सञ्चितिले पार्ने प्रभाव
विनिमय सञ्चितिको कमीले कुनै देशको मौद्रिक नीति निर्माण र खासगरी विदेशी विनिमय नीति सञ्चालनमा असर पार्छ। यस अघि श्रीलंकामा देखिएको आर्थिक संकट स्वदेशी मुद्राका कारणले नभई विदेशी विनिमयको संकटको कारण देखा परेको हो। यसले आर्थिक रूपमा मात्र देशलाई नकारात्मक असर नपारी राजनीतिक रूपमा पनि असर पार्न पुग्यो। देशमा राजनीतिक परिवर्तन भयो। इतिहासमा पहिलोपल्ट विदेशी मुद्रामा लिएको ऋणको ब्याजसमेत तिर्न सकेन र देश टाट पल्टियो। यसबाहेक खाद्य सामग्रीको अभाव देखिएको थियो । अन्य देशबाट खाद्यान्न, औषधिजस्ता अत्यावश्यक वस्तु आयात गर्नसमेत विदेशी मुद्राको अभाव देखिएको थियो ।
त्यसैगरी विदेशी मुद्रा सञ्चितिको अवस्थाले स्वदेशी मुद्राको विनिमय दरमा असर पार्छ। अहिले विकासशील देशमा स्वदेशी मुद्राको विनिमय दर अवमूल्यन हुनुको एक प्रमुख कारण विदेशी विनिमय सञ्चितिमा कमी हुनु हो। अरू देशबाट वस्तु वा सेवाको आयात गर्नका लागि विदेशी मुद्रा आवश्यक पर्छ र आयात कम गर्न विदेशी वस्तु र सेवाको मूल्य बढी बढाउन स्वदेशी मुद्रा अवमूल्यन गर्नुपर्छ। मुद्रा अवमूल्यनले गर्दा स्वदेशी वस्तु र सेवा विदेशीका लागि सस्तो पर्छ। निर्यात बढ्न सक्छ। आफूसँग विदेशमा प्रशस्त विदेशी विनिमय सञ्चिति भएका देशले देशको आर्थिक अवस्थाका आधारमा स्वदेशी मुद्राका विनिमय दर अभिमूल्यन वा पुनर्मूल्यन गर्न सक्छ। जस्तो– विश्वमा सबैभन्दा बढी विदेशी विनिमय सञ्चिति भएको देश चीन हो र यसले निर्यात बढाउन युयानको विनिमय दर निर्धारण गर्छ। जसले गर्दा चिनियाँ वस्तु विश्वमा सबैभन्दा सस्तो पाइन्छ। विश्वका विकसित देशमा पनि चीनका वस्तुको ठूलो मात्रामा किनबेच हुन्छ। चिनियाँ बजार जताततै देख्न सकिन्छ। देशमा विदेशी विनिमयको कमी भएमा उद्योग सञ्चालनका लागि आवश्यक वस्तु र सेवा आयात गर्न सकिँदैन भने विदेशी लगानीकर्ताले पनि आफ्नोे लगानी डुब्ने डरले लगानी फिर्ता लैजान सक्छन्। विदेशी विनिमय सञ्चिति पर्याप्त भएमा केन्द्रिय बैंकले विदेशी लगानीकर्तालाई उनीहरूको लगानी नडुब्ने विश्वास दिन सक्छ। उनीहरूले लगानी फिर्ता लैजाँदैनन्। यसरी पर्याप्त मात्रामा सञ्चिति भएमा आर्थिक सङ्कट टार्न सकिन्छ।
देशमा बाढी, पहिरो, भूकम्प, महामारीजस्ता दैवी प्रकोपको समयमा अर्थव्यवस्था तहसनहस हुने भएकाले त्यस्तो समयमा बढी विदेशी विनिमय आवश्यक पर्छ। जस्तो– सन् २०१९ को अन्त्यमा देखा परेको कोरोना महामारीका कारण विदेशी विनिमयको स्रोत धेरै देशमा घट्न थाल्यो। खासगरी पर्यटन र विप्रेषण आयमा आधारित देशमा पर्यटक आगमनमा कमी आउनुका साथै विदेशमा रोजगारीका लागि जाने कामदार पनि जान नसकेकाले यी दुईबाट आउने विदेशी मुद्राको आप्रवाह बढ्न नसकेकाले यी देशमा विदेशी मुद्राको संकट बढ्न सक्छ। त्यसैले विदेशी विनिमय सञ्चिति आवश्यक पर्छ। विदेशी ऋणको ब्याज तिर्न नसकेमा देशको प्रतिष्ठा घट्छ र अन्तर्राष्ट्रिय बजारबाट ऋण माग्न कठिन हुन्छ। विशेषगरी अन्तर्राष्ट्रिय बजारबाट विदेशी मुद्रामा व्यापारिक ऋण लिएका देशमा यस्तो अवस्था देखापर्छ। अन्तर्राष्ट्रिय वित्त समूहबाट सुविधायुक्त ऋण लिएका देशमा भने यस्तो अवस्था कमै भएको देखिएको छ।
नेपालमा विदेशी मुद्रा सञ्चितिको अवस्था
नेपाले राष्ट्र बैंकको प्रतिवेदनका अनुसार ०८१ असार मसान्तसम्म २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको विदेशी विनिमय सञ्चिति गत असोजसम्म २२ खर्ब ३२ अर्ब २८ करोड पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ असोज मसान्तमा ८.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ६० करोड पुगेको छ ।कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा असोज मसान्तमा ७.५ प्रतिशतले वृद्धि भई १९ खर्ब ८८ अर्ब पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) साग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा रु.१९२ अर्ब ५५ करोड रहेकोमा ०८१ असोज मसान्तमा २६.९ प्रतिशतले वद्धि भई २ खर्ब ४४ अर्ब २७ करोड रुपैया कायम भएको छ । ०८१ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ ।आर्थिक वर्ष २०८१÷८२ को तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसाग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने दाबी राष्ट्र बैंकको छ । २०८१ असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३९.१ प्रतिशत, १२१.९ प्रतिशत र ३०.९ प्रतिशत रहेका छन्। २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए।
कतिसम्म विदेशी विनिमय सञ्चितिलाई सुविधाजनक मान्ने भन्ने प्रश्न उठ्न सक्छ। कुनै देशका लागि यतिनै विदेशी मुद्रा सञ्चिति हुनुपर्छ भन्ने कुनै पनि सर्वमान्य परिभाषा छैन तर पनि नीतिनिर्माताले विनिमय सञ्चिति नाप गर्ने विभिन्न बेन्चमार्क तयार गरेका छन्। स्थिर विनिमय दर हुने देशले परीवर्तनशील विनिमय दर हुने देशको तुलनामा सञ्चितिको स्तर बढी हुनुपर्छ भन्ने मान्यता छ। विभिन्न बेन्चमार्कमध्ये आयात धान्न पर्याप्त हुने र अल्पकालीन विदेशी ऋण तिर्न पर्याप्त हुने विदेशी सञ्चितिलाई प्रमुख आधार मानिएको छ।तसर्थ विदेशी मुद्रा धेरै सञ्चित भएमा देशलाई फाइदा हुन्छ । यसले देशको अर्थतन्त्रलाई बलियो बनाउँछ । हामीले अन्य देशबाट वस्तु तथा सेवा आयात गर्दा विदेशी मुद्रा अर्थतन्त्रका लागि निकै महत्वपूर्ण मानिन्छ ।
(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् ।)
प्रतिक्रिया