काठमाडौँ। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्काशन गर्न लागेको प्राथमिक शेयर (आईपीओ) रोक्का गर्न माग गर्दै उजुरी परेको छ। केही लगानीकर्ताले गैर कानुनीरुपमा निष्काशन गर्न लागेको भन्दै बिमा प्राधिकरणमा उजुरी दिएका हुन्। आईपीओ निष्काशनका लागि कम्पनी सञ्चालनमा आएको एक वर्ष हुनुपर्ने नियम भएपनि कम्पनीले त्यस अगावै आईपीओ निष्काशन गर्न लागेको भन्दै उजुरी गरेका हुन्।
उजुरी पत्रमा, “गार्डियन माइक्रो लाइफले आव २०७९।८० मा जम्मा ९ दिन मात्रै बीमा सेवा प्रवाह गरेको थियो। हाल कम्पनीको आव २०८०–८१ को वित्तीय विवरण बीमा प्राधिकरणबाट पारित हुन र बार्षिक साधारणसभा गर्ने बाँकी रहको अवस्था छ। सो कम्पनीले यही पुष २१ गतेबाट आईपीओ निष्काशन गर्दैछ । कम्पनीले जम्मा ९ दिन मात्रै बीमा सेवा कारोवार गरी सोही वित्तीय विवरणको आधारमा आईपीओ निष्काशन गर्ने अनुमति पाएको देखिन आएको छ। नेपाल धितोपत्र बोर्ड र प्राधिकरणमा आ.व २०७९–८० को वित्तीय विवरणको आधारमा आईपीओ निष्काशन गर्न अनुमति दिनु पूर्ण रुपमा गैर कानूनी हो।’ भनि उल्लेख गरिएको छ।
साथै कम्पनीको आईपीओ तत्काल रोक्का राखी यस घट्नामा संलग्नहरुलाई कारवाही गर्ने र प्रक्रिया पुरा गरेर मात्रै आईपीओ निष्काशन अनुमति दिने व्यवस्था माग सहित उजुरी परेको छ।
यता कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले भने आफुहरुले नियम पूर्वक आईपीओ निष्काशन गर्न लागेको बताए। ‘हामी एक्लैले आईपीओ जारी गर्ने कुरा हैन। बीमा प्राधिकरण र सेबोनले अनुमति दिएरै निष्काशन गर्न लागिएको हो। तसर्थ हामीले नियम पुरा गरेरै आईपीओ आह्वान गरेका हौँ।’
कम्पनीमा दिपक भट्ट सहित ४४ जनाको मुख्य लगानी रहेको छ। नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्षहरु शेखर गोल्छा, पशुपति मुरारका, भवानी राणा लगायतका विभिन्न व्यवसायीहरुको लगानी छ ।
हुलास अटोक्राफ्टका शेखर गोल्छाको १ करोड, पशुपति मुरारकाको ५० लाख, टाइटेनियम क्यापिटलका भवानी राणाको ५ करोड ५० लाख रुपैयाँ र शंकर अग्रवालको फिन्कोर्प मार्फत ११ करोड २५ लाख रुपैयाँ यस कम्पनीमा लगानी रहेको छ।
प्रतिक्रिया